काठमाडौं । संयुक्त राज्य अमेरिकामा चिनियाँ सर्ट भिडिओ एप टिकटक बन्द भएको छ । शनिबार मध्यरातदेखि प्रयोगकर्ताहरुको डिभाइसमा टिकटक खुल्न छोडेको हो ।
अहिले एप्पलको आइओस एप स्टोर र गुगलको प्ले स्टोरमा टिकटक उपलब्ध छैन । अमेरिकी कंग्रेसले गत अप्रिलमा टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सलाई या त यो एप गैरचिनिया मालिकलाई बेच्नुपर्ने वा प्रतिवन्ध खेप्नुपर्ने कानून पारित गरेको थियो । टिकटकले दोस्रो विकल्प रोज्यो ।
टिकटकले सुरुदेखि अमेरिकाले दिएको पहिलो विकल्पलाई अस्वीकार गर्दै आएको थियो । गैरचिनियालाई विक्री गर्ने प्रस्तावबारे उसले स्पष्ट शब्दमा भनेको थियो– व्यवसायीकरुपमा, प्राविधिकरुपमा र कानूनीरुपमा यो सम्भव छैन । कम्पनी यही अडानमा निरन्तर कायम रह्यो ।
अमेरिकाले पाँच वर्ष लामो कसरतपछि टिकटक बन्द गराएको हो । सन् २०२० मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलोपटक कार्यकारी आदेशमार्फत प्रतिवन्धको प्रस्ताव गरेका थिए । तर, उनी त्यसमा सफल भएनन् । त्यसपछि कंग्रेसका धेरै सदस्यहरुले टिकटक प्रतिवन्धबारे विभिन्न उपायहरु अघि सारे ।
त्यसपछि एउटा कानून पारित भएर टिकटकलाई विक्री गर्न वा प्रतिबन्ध खेप्न वाध्य हुने अवस्थामा पुर्याएको हो । तर, नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक प्रतिवन्धलाई केही समय धकेल्ने संकेत गरेका छन् । हिजो एक अन्तरवार्तामा उनले आफू पदासिन भएपछि टिकटकलाई तीन महिना समय दिनसक्ने बताए ।
ट्रम्पले सोमबार राष्ट्रपतिको दोस्रो कार्यकालका लागि सपथग्रहण गर्दै छन् । त्यसलगत्तै उनले टिकटकबारे नयाँ घोषणा गर्ने दावी गरिएको छ । कानूनतः उनीसँग विक्रीका लागि तीन महिना थप समय दिने अधिकार छ ।ट्रम्पको अभिव्यक्तिले टिकटक आशावादी बनेको छ । उसले एउटा वक्तत्वमार्फत ट्रम्पलाई धन्यवाद दिएको छ ।
‘अमेरिकामा टिकटक प्रतिवन्ध गर्ने कानून कार्यान्वयनमा आएको छ । दुर्भाग्यवस, तपाईंले अब टिकटक प्रयोग गर्न पाउनुहुन्न । तर, हामी भाग्यमानी यस अर्थमा छौं कि राष्ट्रपति ट्रम्पले पदभार ग्रहणपछि यसको निकास खोज्नका लागि हामीसँग काम गर्ने बताएका छन्,’ बाइट डान्सले भनेको छ ।
टिकटक एटर्नीले अमेरिकी सुप्रिम कोर्टलाई १९ जनवरीदेखि टिकटक ‘अँध्यारो हुने’ बताएका छन् । टिकटक एप स्टोरहरुबाट गायब भएसँगै यो डाउनलोड र अपडेटका लागि उपलब्ध छैन । अब यो विस्तारै खुल्न छोड्ने छ ।
टिकटकले प्रतिवन्धको कानूनलाई अमेरिकी अदालतमा चुनौति दिएको थियो । प्रतिवन्धको निर्णय अभिव्यक्ति स्वतन्त्रताविरुद्धमा रहेको भन्दै दायर गरेको रिट अदालतले खारेज गरिदिएपछि सरकारलाई बाटो खुलेको हो । अमेरिकामा टिकटकका १७ करोड प्रयोगकर्ता छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ माघ २०८१, १३ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकामा हिमआँधीका कारण पाँच जनाको मृत्यु
अमेरिकामा भीषण हिमआँधीपछि आपत्काल घोषणा
यमनमा रहेका हुथी विद्रोहीमाथि अमेरिकाको आक्रमण
रुसबाट जफत सम्पत्तिबाट २० अर्ब डलर युक्रेनलाई दिँदै अमेरिका
अमेरिकाले युक्रेनलाई दियो २० अर्ब डलर सहयोग
अमेरिकामा कार दुर्घटना: २ नेपालीको मृत्यु, एक घाइते