छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, २१ पुस २०८१, १३ : २७
छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा भएका छुट्टाछुट्टै दुर्घटनामा कम्तीमा ४ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । रूपन्देही, मायादेवी गाउँपालिका-४ मोतिपुरस्थित सडकमा एएस २६ एसी २५३७ नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरूषको शनिबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवन, भरतपुर महानगरपालिका-७ बंसिचोकस्थित सडकमा रा.४ प ८१५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक रामेछाप मन्थली नगरपालिका-११ घर भएका ४१ वर्षीय लोक बहादुर मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

नवलपरासी पश्चिम, सुनवल नगरपालिका-२ बत्रौलीस्थित सडकमा लु.९८ प १७५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा मोटरसाइकल चालक रामग्राम नगरपालिका-५ बस्ने १८ वर्षीय दीप प्रजापतिको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भैरहवा मेडिकल कलेज रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

झापा, मेचीनगर नगरपालिका-६ फाइरिङ चोकस्थित सडकमा डब्लुबी ७४ बीएन ६८८५ नम्बरको स्कर्पियोको ठक्करबाट सोही नगरपालिका-६ साठिबिगा बस्ने ५८ वर्षीया माला थापाको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । स्कार्पियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।