प्रचण्डको सुझावपछि प्रदेश २ संघीय सरकारसँग समन्वय गरेर अघि बढ्न तयार

सफल खबर संवाददाता

शुक्रबार, ०९ कार्तिक २०७५, १९ : ५१
प्रचण्डको सुझावपछि प्रदेश २ संघीय सरकारसँग समन्वय गरेर अघि बढ्न तयार

जनकपुर । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको सुझाव अनुसार संघीय सरकारसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने बताएका छन् ।
उनले त्यसका लागि प्रदेश सरकार एक महिनासम्म केन्द्र सरकारको प्रतिक्षामा रहने समेत बताए ।

आज जनकपुरमा बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको बैठकपछि बोल्दै मन्त्री यादवले भने– ‘यदि संघीय सरकारले एक महिनासम्ममा संघीय प्रहरी ऐन नल्याए हामी हाउसमा प्रस्ताव लगेर पारित गराउछौँ ।’ उनले भने– ‘त्यसका लागि हामीलाई पनि आन्तरिक तयारीमा जुट्नुपर्ने भएकोले हामी संघीय सरकारको बाटो कुछौँ ।’

त्यस्तै प्रदेश नम्बर २ सरकारले आज मुख्यमन्त्री तथा मन्त्रिपरिषदको बैठकबाट २ वटा विधेयकलाई सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ । वैठकबाट २ वटा विधेयकलाई प्रदेशसभामा छलफलका लागि पठाउने निर्णय भएको मन्त्री यादवले बताए । कात्तिक १३ गते प्रदेशसभाको वैठक बस्दैछ । 

त्यस्तै बैठकले लागू पदार्थ सेवन सम्बन्धी ऐन र सोको विरुद्धमा अनुगमन समिति गठन गर्ने निर्णय गरिएको छ भने करार सेवा सम्बन्धी ऐनलाई प्रदेश सभामा छलफलका लागि लैजाने तयारी भएको मन्त्री यादवले बताए ।

प्रतिक्रिया दिनुहोस