ट्रम्पको फोन ट्याप गरेको आरोपबारे चीनको ‘ठट्टा’

एजेन्सी

शुक्रबार, ०९ कार्तिक २०७५, १४ : १५
ट्रम्पको फोन ट्याप गरेको आरोपबारे चीनको ‘ठट्टा’

चीनले अमेरिकी राष्ट्रपतिका निजी कलहरू गोप्य रूपमा सुन्ने गरेको वा ट्याप गरेको भन्ने खबरहरूलाई अस्वीकार गर्दै बेइजिङले एक व्यङ्ग्यपूर्ण जवाफ दिएको छ ।

उसले राष्ट्रपति ट्रम्पलाई एप्पलको आइफोनको साटो चिनियाँ मोडलको फोन प्रयोग गर्न सल्लाह दिएको छ ।
न्यूयोर्क टाइम्स पत्रिकामा प्रकाशित रिपोर्टमा ट्रम्पको विचार बुझ्न उनको निजी आइफोनबाट गरिएका कलहरू चीन र रूसले गोप्य रूपमा सुन्ने गरेको उल्लेख गरिएको थियो ।

सो रिपोर्टमा ट्रम्पका सहयोगीहरूले राष्ट्रपतिलाई त्यस्ता कल असुरक्षित भएको भन्दै सजग गराएका थिए ।

तर राष्ट्रपति ट्रम्पले भने सो रिपोर्ट अस्वीकार गरेका छन् । ट्वीट गर्दै आफूले केवल सरकारद्वारा अनुमोदित फोनलाइन मात्र प्रयोग गर्ने गरेको उनले बताए ।

व्यङ्ग्यपूर्ण जवाफ
सोही रिपोर्टबारे सोधिएको प्रश्नको चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले बिहीवार व्यङ्ग्यपूर्ण जवाफ दिइन् ।

"त्यो रिपोर्ट पढेर मलाई के लागिरहेको छ भने आज अमेरिकामा त्यस्ता मानिस छन् जसले कथा लेखनमा ‌ओस्कार पुरस्कार पाउन खोजिरहेका छन्," प्रवक्ता ह्वा चुनयीँगको भनाइ ।

उनले भनिन्, "यदि उनीहरू एप्पल फोनको सुरक्षालाई लिएर साँच्चिकै चिन्तित छन् भने उनीहरूले ह्वावेइ प्रयोग गर्न सक्छन् ।"

ह्वावेइ चिनियाँ मोबाइल कम्पनी हो ।

"अझ पनि चिन्ता भए उनीहरूले सबै आधुनिक सञ्चार उपकरण त्यागेर बाहिरी विश्वसँग नाता तोडे पनि हुन्छ ।"

रूसले पनि अमेरिकी रिपोर्टमा उल्लेख गरिएका आरोप अस्वीकार गरेको छ । -बीबीसी

प्रतिक्रिया दिनुहोस