वरुण धवनसँग जोडी बाँध्दै जान्भी कपूर

शुक्रबार, ०९ कार्तिक २०७५, १३ : ०१
वरुण धवनसँग जोडी बाँध्दै जान्भी कपूर

स्वर्गीय अभिनेत्री श्रीदेवीकी छोरी जान्भी कपूरले करण जोहरको धर्मा प्रोडक्शनको फिल्म ‘धडक’ बाट आफ्नो फिल्मी करियर सुरू गरिन् । आफ्नो डेब्यू फिल्ममै सफलता पाएकी उनको नाम करणकै दोस्रो ठूलो फिल्म ‘तख्त’ मा पनि आयो । यस्तै करणकै तेस्रो फिल्ममा जान्भी पक्का भएकी छन् ।

भारतीय मिडियाका अनुसार जान्भीलाई तेस्रो फिल्म पनि धर्मा प्रोडक्शनबाट नै आफर आएको छ । निर्देशक शशांक खेतान रहने यस फिल्मको घोषणा भने आउँदो वर्षको फेब्रअरीमा हुने भएको छ । शशांकले यसअघि ‘धडक’ र ‘बद्रीनाथ की दुल्हनिया’ जस्ता फिल्महरु बनाइसकेका छन् । यस फिल्मका लागि शशांकले अभिनेता वरुण धवनलाई फाइनल गरिसकेका छन् । अब भने वरुणसँग जान्भीलाई देख्न पाइने भएको छ ।

फिल्मको नाम भने ‘रणभूमि’ हुन सक्ने बताइएको छ । यद्यपि, यस विषयमा आधिकारिक जानकारी भने गर्न बाँकी नै छ ।

‘धडक’को सफलतापछि जान्भीलाई धर्मा प्रोडक्शनबाट फिल्म ‘तख्त’ का लागि साइन गराइएको छ । ‘तख्त’ मा उनका साथमा करीना कपूर, रणवीर सिंह जस्ता स्टारहरु पनि देखिनेछन् ।

प्रतिक्रिया दिनुहोस