सहकारी ठगी प्रकरण

सहकारी ठगी प्रकरणमा आज पनि बयान हुँदै

सफल खबर संवाददाता

मंगलबार, ०९ पुस २०८१, ०८ : ३७
सहकारी ठगी प्रकरणमा आज पनि बयान हुँदै

पोखरा । कास्कीको पोखरास्थित  सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपीहरुको बयान मंगलबार पनि जारी रहने भएको छ । कास्की जिल्ला अदालतमा सोमबार छविलाल जोशीको बयान भएकोमा मंगलबार रास्वपासभापति रवि लामिछानेलगायतको हुने बताइएको छ । 

सोमबार प्रतिवादी लामिछाने,  जोशी, लीला पछाइ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई अदालतमा उपस्थित गराइएकामा जोशीको मात्र बयान लिइएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । 

जिल्ला न्यायाधीश नीतिज राईको इजालसमा जोशीको बयान लिइएको उनले बताए। सोमबार एक जना प्रतिवादीको मात्र बयान लिइएको र अन्य प्रतिवादीको बयान आजदेखि सुरु हुने उनको भनाइ छ । बयान सकिएपछि उनीहरुको थुनछेक बहस हुनेछ । 

यसअघि आइतबार जिल्ला सरकारी वकिल कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेलगायत विरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ । सरकारी वकिल कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ ।