सहकारी ठगी प्रकरण

रविविरुद्ध तीन कसूरमा मुद्दा दर्ता, सम्पत्ति शुद्धीकरणमा २८ करोड बिगो दावी

सफल खबर संवाददाता

आइतबार, ०७ पुस २०८१, १४ : २५
रविविरुद्ध तीन कसूरमा मुद्दा दर्ता, सम्पत्ति शुद्धीकरणमा २८ करोड बिगो दावी

पोखरा । पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेविरुद्ध तीनवटा बेग्लाबेग्लै कसूरमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता भएको हो ।

रविविरुद्ध सम्पत्ति शुद्धिकरणको कसूरमा २७ करोड ८९ लाख ४ हजार रुपैया बिगो दावीसहित मुद्दा दर्ता भएको सरकारी वकिल कार्यालय कास्कीकी सूचना अधिकारी शान्तिदेवी शर्माले जानकारी दिइन् ।

३ वटै कसुरमा अभियोग दर्ता भएको रविविरुद्ध सम्पत्ति शुद्धीकरणमा मात्र २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो राखिएको छ ।यसअघि शुक्रबार थप ४० करोड २० लाख ७६ हजार १४९ रुपैयाँ बिगोसहित १९ जनाविरुद्ध अभियोग दर्ता भएको थियो ।कुल बिगो १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ बिगो पुगेको छ । सोही विगोमा नै थप ४४ विरुद्ध अभियोग पत्र दर्ता गराएको हो ।

साथै पूर्वडीआइजी छविलाल जोशी, जिबीका साझेदार रामप्रसाद खनाल र कर्मचारी लीला पछाईविरुद्ध पनि सम्पत्ति शुद्धीकरणसहित सहकारी ठगी र संगठित अपराधको कसुर अभियोग पत्र दर्ता भएको छ ।

१९ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधको अभियोग दर्ता हुँदा अन्यका हकमा सहकारी ठगीको अभियोग दर्ता भएको छ ।