काठमाडौँ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिलेको अवस्थामा सुधार ल्याउन सरकारले प्रयास गरिरहेको बताएका छन् । नेपाली काँग्रेस थाहा नगर कार्यसमितिले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थिरताको जगमा विकास निर्माण र आर्थिक समृद्धिमार्फत जनताको अवस्था सुधार्न सरकारले काम गरिरहेको बताए ।पछिल्लो निर्वाचनपछि बनेका सत्ता गठबन्धन लामो समय नटिक्दा जनतामा बढेको निराशा चिर्नका लागि अहिलेको सत्ता गठबन्धन बनेको पनि उनले प्रष्ट पारे । राजनीतिक स्थिरता र स्थायित्वका लागि अहिलेको सरकार बनेको र सरकारले नागरिकलाई केन्द्रमा राखेर काम गरिरहेको उनले बताए
सडकमार्ग मार्फत थाहा नगरपालिका पुग्ने क्रममा उपप्रधानमन्त्री सिंहले लौहपुरूष गणेशमान सिंहले शिलान्यास गरेको चन्द्रागिरि चित्लाङ सडकको अवलोकन पनि गरे । सडक निर्माण कार्य सुरु भएको लामो समयसम्म पनि सम्पन्न नभएको भन्दै उनले चन्द्रागिरि चित्लाङ सडक निर्माण कार्य छिट्टै सम्पन्न गर्न पहल गर्ने बताए । उनले निर्माण कार्यमा ढिलाइ गर्न नहुने र विकासका काममा सबै मिल्नुपर्नेमा जोड दिए। यो राजधानीसँग जोड्ने सबभन्दा छोटो मार्ग मात्र नभएर बाग्मति प्रदेशको राजधानी जोड्ने मार्ग पनि भएको कारणले गर्दा यसको आकर्षण बेग्लै किसिमको हुन्छ भन्ने लागेको छ ,उपप्रधानमन्त्री सिंहले भने ।
उनले विकासका लागि जनप्रतिनिधिको भूमिका मुख्य रहे पनि संघ, प्रदेश र स्थानीय तहमा जनप्रतिनिधिसँगे सबैको साथ जरुरी हुने पनि बताए । चुनावका क्रममा कुनै दलबाट उम्मेदवार बने पनि जितेपछि जनप्रतिनिधिले आफ्नो कार्यकालभर जनतालाई केन्द्रविन्दुमा राखेर जनसरोकारका काम गर्नुपर्नेमा जोड दिए। जनप्रतिनिधिलाई राम्रो काम गराउनका लागि स्थानीय बासिन्दाको पनि महत्त्वपूर्ण भूमिका रहन्छ । यो भएन, त्यो भएन भन्ने अधिकार पनि नागरिकलाई छ । तर, त्यसो भनेर बसेर मात्र भएन, झ उपप्रधानमन्त्री सिंहले भने, राम्रो काम गराउनका लागि के गर्नुपर्यो भन्ने कुरा आम जनताले पनि आफ्नो जिम्मेवारी बोध गराउन सक्नुपर्छ । सबै मिल्नुपर्छ । उनले चन्द्रागिरि चित्लाङ सडक बने सबै नागरिकले सुविधा पाउने भन्दै विकास निर्माणको काम सबैको साझा विषय भएको बताए ।
उपप्रधानमन्त्री सिंहले ०४६ साल अगाडि भन्दा बहुदल आएपछि विकास निर्माणको कामले क्रमिक रूपमा गति लिइरहेको बताए । अहिले केही पनि भएन गलत भाष्य बनाउन खोजिएको भन्दै उनले बहुदलपछि शिक्षा, स्वास्थ्य, सडकलगायतका पूर्वाधारमा उल्लेख्य विकास भएको बताए । तर,नागरिकको चाहना अनुसार अझै काम गर्न बाँकी रहेको र त्यसमा सरकारले प्रयास गरिरहेको सिंहको भनाई थियो ।
त्यस्तै कार्यक्रममा नेपाली काँग्रेस बागमती प्रदेश सभापति समेत रहेका बाग्मति प्रदेश सांसद इन्द्र बानियाँले मकवानपुरका जनताको अवस्था सुधार्न र मकवानपुरलाई विकासको गतिमा अघि बढाउनका लागि कुनै कसर बाँकी नराख्ने बताए।
सिंहले आज मकवानपुरको मनहरी नगरपालिकाको प्रशासकीय भवन शिलान्यास गर्नेछन् । सिंह चन्द्रागिरि चित्लाङ सडक मार्ग हुँदै मनहरी नगरपालिका गएका हुन् । सिंहसँगै ऊर्जा राज्यमन्त्री कान्छाराम तामाङ र नेपाली काँग्रेस बाग्मति प्रदेश सभापति बानियाँ पनि कार्यक्रममा सँगै सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ पुस २०८१, १२ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई स्थायित्व दिँदै विकास गर्न एमालेसँग सहकार्य : उपप्रधानमन्त्री सिंह
वर्तमान सरकार दिगो विकास र स्थायित्वको लागि बनेको छ : उपप्रधानमन्त्री सिंह
प्राथमिकताका आधारमा निर्माणसम्बन्धी काम अघि बढ्छन् : उपप्रधानमन्त्री सिंह
उपप्रधान एवं शहरी विकास मन्त्री सिंह बञ्चरेडाँडामा
प्राप्त अधिकारलाई सदुपयोग गरेर देशको विकासमा बढ्नुपर्छः उपप्रधानमन्त्री सिंह
आधुनिक विकास निर्माणलाई दिगो बनाउन आवश्यक : उपप्रधानमन्त्री सिंह