काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान सुरु भएको छ । पर्सास्थित सानोपाइला सहकारीको रकम अपचलनको आरोपमा उनीमाथि मंगलबारबाट बयान सुरु भएको हो । जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालय पर्सामा १० बजे उपस्थित गराएर बयान सुरु गरिएको छ । पर्साका एसपी कुमुध ढुंगेलले लामिछानेको बयान सुरु भएको बताए ।
कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई सोमबार काठमाडौं हुँदै हवाई जहाजमार्फत सिमरा, बारा लगिएको थियो । त्यहाँबाट पर्सा प्रहरीले आफ्नो भ्यानमा राखेर लामिछानेलाई पर्सा लगेको थियो ।
सोमबार मेडिकल जाँच गरेर लामिछानेलाई हिरासतमा राखिएको थियो । त्यतिबेला उनको प्रेसर सामान्य बढी रहेको बताइएको छ । आज मंगलबार बिहानबाट भने लामिछानेको बयान सुरु गरिएको हो ।
रविसहित १४ जनाविरुद्ध सानोपाइला सहकारीको रकम अपचलनको बारेमा १९ मंसिरमा पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।यो सहकारीका पूर्वसंञ्चालक तथा संरक्षक जीबी राई हुन् । तत्कालीन वीरगन्ज उपमहानगरपालिकाको ८, १३, १४, १८ र १९ नम्बर वडा कार्यक्षेत्र रहेको सानो पाइला सहकारीले करिब ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ बचत जम्मा गरेको थियो ।
सहकारीले ऐन विपरीत सदस्य समेत नरहेका वीरगन्ज बाहिरका व्यक्तिलाई ऋण दिएर रकम अपचलन गरेको आरोप छ । बचतमध्ये करिब ९२ करोड रुपैयाँ कार्यक्षेत्र बाहिर गएर लगानी गरेर अपचलन गरेको आरोप छ ।
यो सहकारीबाट जीबी राई सञ्चालक रहेको नेचर हब इन्टरनेशनलाई १ करोड ३७ लाख, नेचर नेष्ट प्रालिलाई १ करोड ८५ लाख र स्प्रीङ वुड रियल स्टेटलाई १ करोड एक लाख कर्जा प्रवाह गरिएको छ ।
त्यस्तै विशाल तामाङको नाममा ६ करोड ८३ लाख, छविलाल जोशीको नाममा १ करोड ८६ लाख, तीर्थराज लामिछानेको नाममा १ करोड ६ लाख, विमला पौडेलको नाममा २ करोड सात लाख कर्जा प्रवाह गरिएको खुलेको छ ।
लामिछानेमाथि यसअघि कास्कीको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा सहकारी लगायतमा भएको रकम हिनामिनामा बयान भइसकेको छ । लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । सुरुमा लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान थालिएको थियो भने पछि कास्की प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थालेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ मंसिर २०८१, ११ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविसहित १४ जनालाई प्रतिवादी बनाउन रायसहित चितवन प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन
यस्तो छ रविलाई धरौटीमा छाड्न दिएको आदेश (पूर्णपाठ)
रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंको आदेश
थुनछेक बहसका लागि रवि लामिछानेलाई अदालत ल्याइयो
रविलाई थुनामा नराखे प्रमाण नष्ट हुने सरकारी वकिलको तर्क
रवि लामिछानेको थुनछेक बहस सुरु