- जिवेन्द्र सिम्खडा
म नबोलेको
बोल्न नसकेर हैन ।
तिमी हामी एक भएर
एउटा मौसुफलाई
सहिदको रगतको भेलमा
बगाइदिएका थियौं
अनि तिमीलाई राख्यौँ
विश्वासको कर्मासनमा ।
तिमीसँग हाम्रो
सुन्दर शान्त समुन्नत
नेपालको नासो थियो
त्यही भएर हो म नबोलेको ।
तर तिमीले
हाम्रो आस्थामा खेलबाड गरेर
हाम्रो मान्यतामा खेलाँची गरेर
हाम्रो विश्वासमा हाँसिमजाक गरेर
मलाई बोल्न बाध्य बनायौ ।
ए कथित मौसुफहरू,
अब सुन
कन्कर्नोले कोट्याएरमात्र हैन
झीरले नै कान खोलेर सुन
तिमी हामीमध्येकै
र हामीजस्तै मात्र हौ
तिमी भ्रममा नपर,
म अग्लो हुँ भनेर
हो, अहिले अग्लो देखिएका छौ
नयाँ बिहानका लागि
बलिदान भएका
नेपाल आमाका
सर्वोत्तम सन्तानको
चिहानमाथि उभिएर
त्यसैले तिम्रो उचाइ
कम्तीमा पनि
‘नीलो रगत’ वाला मौसुफ बन्नलाई हैन
हुँदै होइन ।
तिमी पनि हामीजस्तै भुइँमान्छे थियौ
ठालु पल्टनेलाई ठुला नठान्ने
तर, अहिले कसरी तिम्रो मतिभ्रष्ट भयो १
र, आफूलाई ठूलो ठान्दै ठालु पल्टिन थाल्यौ रु
तिमी हामीमध्येकै र हामीजस्तै मात्र हौ
तिमी भ्रममा नपर,
म हट्टाकट्टा छु भनेर
हो, तिमी अहिले मोटाएका छौ
किर्नाजसरी
जुकाजसरी
जसमा आश्रित छौ
उसैको रगत चुसेर ।
अघाएको किर्ना र जुकाको
के हाल हुन्छ, थाहा छैन तिमीलाई ?
त्यसैले तिम्रो मोटाइ
कम्तीमा पनि
जनता चुस्ने नवमौसुफ बन्नलाई हैन
हुँदै होइन ।
हाम्रो आशिषबाट तिमी त्यहाँ पुगेका थियौ
तर, अहिले कसरी तिम्रो मतिभ्रष्ट भयो रु
र, सम्प्रभु जनतालाई आशिष दिन थाल्यौ !
सहिदका रगतलाई भुलेर
रङले अछेता रंगाएर
घुँडा टेकाउँदै निधारमा टाँसिदिएर
कर्तव्यको झारा मेट्यौ
जनताको आशाजस्तै
हलक्क बढेको जमरा
स्वार्थी शिरहरूमा सिउरिदिएर
जिम्मेवारीको झारा तिर्यौ
तर, तिम्रो आसन
कम्तीमा पनि
‘धर्मावतार’ वाला मौसुफ बन्नलाई हैन
हुँदै होइन ।
तिमी फगत थाँक्रो हौ
काँक्रोको सहाराको
नठान म धनी हुँ काँक्राको
तिमीसँग हाम्रो
सुन्दर शान्त समुन्नत
नेपालको नासो थियो
त्यही भएरमात्र हो
म नबोलेको
बोल्न नसकेर हैन ।
तर, तिमीले बोल्न बाध्य बनायौ
ए कथित मौसुफहरू,
अब सुन
कन्कर्नोले कोट्याएरमात्र हैन
झीरले नै कान खोलेर सुन
तिमी मौसुफ होइन,
हाम्रो आस भरोसाको
थाँक्रो हौ, केवल थाँक्रो
त्यसैले भुलेर पनि नभुल
नलहरिए काँक्राका लहरा
थाँक्रो बन्नेछन् मात्र दाउरा ।
प्रतिक्रिया दिनुहोस