पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै पटेकडाँडा

रासस

आइतबार, २३ मंसिर २०८१, ०८ : ४३
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै पटेकडाँडा

तेह्रथुम । तेह्रथुम र धनकुटाको सीमा क्षेत्रमा अवस्थित पर्यटकीय स्थल पटेकडाँडा आन्तरिक पर्यटकका निम्ति आकर्षक गन्तव्यका रूपमा विकास भइरहेको छ ।

समुद्री सतहबाट दुई हजार सात सय दुई मिटर उचाइमा रहेको पटेकडाँडाबाट मौसम खुलेको समयमा मकालु, कुम्भकर्ण सहितका सुन्दर हिमशृङ्खलासँगै तेह्रथुम र धनकुटालगायत छिमेकी जिल्लाका विभिन्न स्थानको अवलोकन गर्न सकिन्छ । पटेकडाँडा सूर्योदय र सूर्यास्तको दृश्यावलोकनका लागि प्रख्यात छ ।

सरकारले सय गन्तव्य सूचीमा राखेको पटेकडाँडा कोशी राजमार्गअन्तर्गत धनकुटाको छ थर जोरपाटी गाउँपालिकास्थित सिधुवा बजारबाट  ४५ मिनेट उकालो चढेपछि पुगिन्छ । 

स्थानीय सरकारको पहल एवं संघीय र प्रदेश सरकारको सहकार्यमा सिधुवा बजारबाट केही माथि पैदल यात्राका लागि रेलिङसहितको सिँढी निर्माण गरिएको छ । डाँडामा शौचालय र वनभोज स्थल बनाइएका छन् । त्यहाँ पूर्वाधार निर्माण भएसँगै पर्यटकको चहलपहल बढेको स्थानीय छिरिङ शेर्पाले बताए ।

सरकारले सय गन्तव्य सूचीभित्र पटेकडाँडालाई राखेपछि यो स्थानमा आन्तरिक पर्यटक जान थालेका हुन् । पर्यटकको चहलपहल बढेसँगै सिधुवा बजारको व्यापार-व्यवसायमा वृद्धि भएको स्थानीय व्यवसायी मेघराज घिमिरेले बताए । उनले  पटेकडाडाँको प्रचारप्रसार र थप पर्यटनमैत्री पूर्वाधार निर्माण गर्न आवश्यक भएको बताए । 

प्रतिक्रिया दिनुहोस