महेन्द्रनगर (धनुषा) । श्री सीताराम विवाहपञ्चमी महामहोत्सवका लागि जानकी मन्दिरकै प्राङ्गणमै विवाहमण्डप बनाइएको छ । जानकी मन्दिरको प्राङ्गणमा वैवाहिक कार्यक्रमको समयमा हजारौँ श्रद्धालुको सहभागिता रह्यो ।
जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवका अनुसार यस पटक विवाहपञ्चमी महामहोत्सवमा करिब २० लाखभन्दा बढी दर्शनार्थीहरू सहभागी भए । त्रेतायुगको झल्को दिने विवाहपञ्चमी महोत्सव हेर्नका लागि नेपाल, भारत र तेस्रो मुलुकबाट हजारौँ दर्शनार्थीहरू जनकपुरधाम आइपुगेको हो ।
यस पटक प्रत्येक ५ वर्षमा अयोध्याबाट आउने जन्ती पनि आएका छन् । अयोध्याबाट रामजन्म भूमि तीर्थ क्षेत्र ट्रष्टका महासचिव चम्पत राय, अयोध्याका प्रमुख गिरिशपति त्रिपाठी, विश्व हिन्दू परिषद् केन्द्रीय मन्त्री राजेन्द्र सिंह पङ्कज सहितका व्यक्ति जन्तीमा आएको छ ।
जकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणमा वैवाहिक कार्यक्रमको प्रत्येक वर्ष आयोजना हुने गर्छ । वैवाहिक कार्यक्रमका लागि छोरीको बिहेका लागि जसरी मण्डप सजाइन्छ ठीक त्यसरी नै रामजानकी विवाहका लागिसमेत मण्डप सजाएको छ ।
जनकपुरधामस्थित रहेको जानकी मन्दिरलाई मिथिला दरबारका रूपमा लिइन्छ भने राम मन्दिरलाई अयोध्या दरबारका रूपमा लिइन्छ । जानकी मन्दिर तथा राम मन्दिरलाई बेहुली झैँ विवाहपञ्चमीका लागि सिँगारिएको छ । जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले छोरी बिहेको आयोजन गरिरहेको जस्तै अनुभव गर्ने गरेको बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २२ मंसिर २०८१, ०६ : ४५
लेखकबाट थप