सलमान खानका ५ रोचक तथ्य

मंगलबार, ०६ कार्तिक २०७५, १७ : ३३
सलमान खानका ५ रोचक तथ्य

भारतीय सिने उद्योगका सर्वाधिक ठूला स्टारमध्ये एक सलमान खान सधैँ चर्चामा रहन्छन् । अविवाहित सलमानले युवतीहरूको मन जितिसकेका छन् । तर, उनीबारे केही रोचक तथ्य धेरैलाई थाहा नहुन सक्छ ।

सस्तो कपडा
स्टार भए पनि सलमान खान पहिरनमा खास ध्यान दिँदैनन् । उनी सस्ता कपडा किन्छन् । कहिलेकाहीँ ५ सय भारुको टिसर्ट लगाएर पनि सार्वजनिक कार्यक्रममा देखिन्छन् । उनी पुराना कपडा हत्तपत्त फाल्दैनन् । उनी १५ वर्ष पुरानो जिन्स र १० वर्ष पुरानो जुत्ता लगाएर पनि फिल्म प्रमोसनमा हिँडेका छन् ।

सही विश्लेषण
उनको सफलता कुनै संयोग होइन । आफ्नो फिल्म कतिसम्म सफल हुन्छ भन्ने पूर्वानुमान गर्न उनी खप्पिस छन् । उनको यस्तो कलाले नजिकका साथीभाइ पनि आश्चर्यमा पर्छन् । यसको उदाहरण ‘बजरंगी भाइजान’लाई लिँदा हुन्छ । यो फिल्मको प्रस्ताव आउँदा सलमान अन्य ठूला प्रोजेक्टमा व्यस्त थिए । तर, स्क्रिप्ट पढेपछि उनी यति कन्भिन्स भए कि, सबै काम छाडेर ‘बजरंगी भाइजान’ खेले । परिणाम सबैलाई थाहा छ । यो उनको करिअरको सबैभन्दा धेरै कमाइ गर्ने फिल्म हो ।

पैसा जलाउने
बाल्यकालमा उनी दीपावली मज्जाले मनाउँथे । पटाका पड्काउनुको सट्टा सलमानले पैसा जलाउने गरेका थिए । एकपटक उनले दीपावलीमा आफ्ना पिता सलिम खानको पूरै महिनाको तलब जलाइदिए । बलिउडका चर्चित स्क्रिप्ट राइटर सलिमले उनलाई पिटेनन्, तर पैसाको महत्व बुझाए । सलमानका अनुसार पिताको उक्त भनाइ आजसम्म पनि उनको मस्तिष्कमा गढेको छ ।

साबुन प्रेम
सलमान साबुनप्रेमी हुन् । उनी प्रायः अग्र्यानिक साबुन प्रयोग गर्न रुचाउँछन् । उनको स्नानकक्षमा धेरै ब्रान्डका साबुन छन् । उनी जुन देश घुम्छन्, त्यहाँबाट साबुन किनेर मात्रै फर्कन्छन् ।

प्रविधिमा पछाडि
सलमान प्रविधिमैत्री छैनन् । उनले अहिलेसम्म आफ्नो इमेल आइडी पनि खोलेका छैनन् । फोनमा भन्दा प्रत्यक्ष भेटेर कुरा गर्न रुचाउँछन् । न उनीसँग आइप्याड छ, न त प्ले स्टेसन नै । रोचक कुरा यो छ कि, उनलाई बजरंगी भाइजानमा समावेश गीत ‘सेल्फी ले ले…’ सुटिङ हुनुअघि सेल्फी शब्द नै थाहा थिएन । -नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस