बनियानी (झापा) । जिल्लाको शिवसताक्षी नगरपालिका-१० स्थित पर्यटकीयस्थल दोमुखामा दुईमुखे प्रवेशद्वार निर्माण गरिएको छ । सोमबार एक कार्यक्रमकाबीच नगरप्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तम्बाहाङ्फेले संयुक्त रूपमा प्रवेशद्वारको उद्घाटन गरे ।
नवनिर्मित प्रवेशद्वारमाथि पशुपतिनाथ, स्वयम्भुलगायत विभिन्न जनजातिका पहिचान झल्काउने आकृति राखेर बहुसांस्कृतिक रूपमा विकास गरिने योजना रहेको नगरप्रमुख थोप्राले बताए । पर्यटकीयस्थल दोमुखाको चौतर्फी विकासमा नगरपालिका योजनाबद्ध रूपमा लागेको उनको भनाइ छ ।
“चालु आर्थिक वर्षमा रु एक करोड लगानी गर्नेछौँ”, नगरप्रमुख थोप्राले भने, “सडकमा बत्ती, रात्रिकालीन पर्यटकलाई मनोरञ्जन दिने पूर्वाधार निर्माण गर्ने योजना छ ।” उनका अनुसार प्रवेशद्वारसँगै दोमुखाबाट वनभोजस्थल हुँदै स्वीमिङपुलसम्म जाने सात सय ३० मिटर सडकसमेत इन्टरलक ब्लक लगाउने काम सम्पन्न भएको छ ।
प्रवेशद्वार र सडक रु ८४ लाख ६१ हजार पाँच सय ५० मा भीमेश्वर कन्स्ट्रसन प्रालिले निर्माण गरेको हो । निर्माणाधीन उक्त सडक छ मिटर चौडा रहेका छ भने ६० एमएमको ब्लक लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १८ मंसिर २०८१, ०८ : ४७
लेखकबाट थप