रामजानकी विवाह महोत्सव : अयोध्याबाट आएका जन्तीलाई मटिहानीमा स्वागत

रासस

मंगलबार, १८ मंसिर २०८१, ०८ : ००
रामजानकी विवाह महोत्सव : अयोध्याबाट आएका जन्तीलाई मटिहानीमा स्वागत

महोत्तरी । जनकपुरधाममा हुने रामजानकी विवाह महोत्सवमा सरिक हुन आएका जन्तीलाई मटिहानीमा स्वागत गरिएको छ । भारतको अयोध्याबाट आएका जन्तीलाई गएराति मटिहानीमा स्वागत गरिएको हो । 

मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलसहितका जनप्रतिनिधि, जिल्लाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्लास्थित प्रमुखहरूसहित मटिहानी नगरवासीले जन्तीको स्वागत गरेका हुन् । मटिहानीस्थित लक्ष्मीनारायण मठका मानमहन्थ, सामाजिक सङ्घसंस्थाका अगुवा, मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठका आचार्य र राजकीय संस्कृत माध्यमिक विद्यालय (मटिहानी गुरुकूल)का  शिक्षक, बटुकहरू र महोत्तरी उद्योग वाणिज्य सङ्घका पदाधिकारी सहभागी थिए । 

यस पटकको रामजानकी महोत्सवमा सरिक हुन अयोध्यास्थित श्रीराम ट्रष्टका उच्च पदाधिकारी र साधुसन्तसहितको पाँच सय जनाको जन्ती टोली मटिहानी आइपुगेको हो । सप्ताहव्यापी रामजानकी विवाह महोत्सवमा प्रत्येक पाँचौँ वर्ष अयोध्याबाट जन्ती सजिएर आउने परम्परा छ । नेपाल प्रवेश गरेपछि मटिहानी पहिलो दिनको रात्रि विश्राम गरेर जनकपुर प्रस्थान गर्ने परम्पराअनुसार नै जन्ती सोमबार राति नै  मटिहानी आइपुगेका हुन् ।

मटिहानी राम–सीताको विवाहमा वेदी बनाउन माटो खनिएको ठाउँका रूपमा परिचित छ । राम–सीताको विवाहमा एउटा महत्त्वपूर्ण पाटो जोडिएको हुँदा आफ्नो ठाउँ विवाह महोत्सवको महत्त्वपूर्ण कडी रहँदै आएको नगरप्रमुख मण्डल बताउछन् ।

अयोध्याबाट आएका अतिथिलाई मिथिला भोजन (दालभात, सब्जी, चटनी, पापरतिलौरी, तरुवा र दही) गराइएको नगरप्रमुख मण्डलले बताए। सोमबार रात्रि विश्राम मटिहानीमा गरेका जन्ती आज बिहान जलेश्वर, पिपरा हुँदै जनकपुरधाम जाने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस