चितवन । चितवनमा सीमान्तकृत चेपाङ, मुसहर तथा विपन्न समुदायका एक हजार ३० बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । सपना भिलेज सोसल इम्प्याक्टले इच्छाकामना गाउँपालिका, कालिका र रत्ननगर नगरपालिकाका एक हजार ३० बालबालिकाको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरेको हो । भरतपुर अस्पतालसँगको सहकार्यमा इम्प्याक्टले ६ दिने निःशुल्क बाल स्वास्थ्य शिविर आयोजना गरेको थियो ।
शिविरको पहिलो दिन कालिका-१० निबुवाटारमा दुई सय २५, दोस्रो दिन वडा नं ११ रन्तेशमा एक सय ७५, तेस्रो र चौथो दिन इच्छाकामना-१ भाराङमा तीन सय ६९, पाँचौँ दिन हात्तीवाङमा एक सय ९१ र छैटौँ दिन सौराहास्थित सपना स्कुलमा ७० बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको इम्प्याक्टका कार्यक्रम निर्देशक सुजन बस्नेतले जानकारी दिए ।
नेदरल्याण्डस्को ‘मेडिकल चेक्स फर चिल्ड्रेन’ संस्थाका १० विदेशी चिकित्सको टोलीले बालबालिकाको स्वास्थ्य परीक्षण गरेको हो । इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले सीमान्तकृत समुदायका बालबालिकाको स्वास्थ्य जोगाउन वार्षिक रूपमा बाल स्वास्थ्य शिविर गर्दै आएको बताए । छ दिनसम्म सञ्चालन भएको शिविरमा शिशुदेखि १२ वर्षसम्मका बालबालिकाको उपचार गरिएको थियो ।
चेपाङ र मुसहर बालबालिकामा खाना अभावका कारण कुपोषण हुने, उमेरअनुसार तौल नहुने समस्या रहेको अध्यक्ष गिरीले बताए । इम्प्याक्टले चेपाङ समुदायका बालबालिकालाई लक्षित गरी सर्वोत्तम पीठो पनि वितरण गरेको छ । सुरुमा निःशुल्क र त्यसपछि १० प्रतिशत मात्र शुल्क लिएर सर्वोत्तम पीठो वितरणलाई निरन्तरता दिएको उनले जानकारी दिए ।
सर्वोत्तम पीठो वितरण गर्न थालेपछि चेपाङ बालबालिकामा कुपोषणको समस्या ९० प्रतिशत समाधान भएको अध्यक्ष गिरीको भनाइ छ । इम्प्याक्टले सम्बन्धित पालिकाबाट अनुमति लिएर बाल स्वास्थ्य शिविर सञ्चालन गरेको हो । सपनाले विगत १८ वर्षदेखि चेपाङ बस्तीमा बाल स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १६ मंसिर २०८१, ११ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जाडोका कारण दुई सय बढी बालबालिका विद्यालय जान छाडे
अष्ट्रेलियामा पारित भयो १६ वर्षमुनि सामाजिक सञ्जाल चलाउन नपाइने विधेयक
चौंरी खर्क पुगेर बालबालिकालाई लगाइयो खोप
जोखिम मोलेर विद्यालय जान्छन् चुरेका बालबालिका
खोलाले बगाएर दुई बालबालिकाको मृत्यु
दाङमा ३७ हजारभन्दा बढी बालबालिकालाई ‘आइपीभी’ खोप लगाइँदै