मुम्बई हमलाको १६ वर्ष– भारत छिरेर १० आतंककारीले यसरी गरेका थिए आक्रमण

सफल खबर संवाददाता

मंगलबार, ११ मंसिर २०८१, १४ : ४६
मुम्बई हमलाको १६ वर्ष– भारत छिरेर १० आतंककारीले यसरी गरेका थिए आक्रमण

काठमाडौ। भारतको आर्थिक राजधानी मुम्बईमा १६ वर्षअघि आजैका दिन हमला गरेर आतंककारी संगठन लश्कर-ए-तैयबाले १६६ जनाको ज्यान लियो । मारिनेमा आधाभन्दा बढी भारतीय र अन्य विदेशी नागरिक थिए ।

मुम्बई हमलाका लागि आतंककारीहरू पाकिस्तानबाट आएका थिए । पछि खुलेअनुसार १० जनाले कराँचीबाट डुंगामा यात्रा शुरू गरे । बाटोमै उनीहरूले भारतीय मछुवार (माछा मार्ने व्यक्ति)को एउटा डुंगा नियन्त्रणमा लिएर चालकको हत्या गरे । मुम्बईको तटमा आइपुगेपछि उनीहरूले ५ समूहमा विभाजित भएर हत्याको शृंखला शुरू गरेका थिए ।

उक्त आक्रमण ३ दिनसम्म चल्यो । आतंककारी अजमल कसाब जिउँदै समातियो भने बाँकी ९ जना भारतीय सुरक्षा बलको गोलीबाट मारिए । यसबारे धेरै छानबिन र अध्ययन भएका छन् । 'फेडेरेसन अफ अमेरिकन साइन्टिस्ट' नामको संस्थाले आक्रमणबारे एउटा प्रतिवेदन सार्वजनिक गरेको थियो ।

उक्त प्रतिवेदनमा आक्रमण गरिरहेका आतंककारी र पाकिस्तानमा रहेका मास्टर माइन्डबीच भएको टेलिफोन संवादका अंशहरू समेत उल्लेख गरिएको छ । आक्रमण शुरू भएको अर्को दिन २७ नोभेम्बर २००८ को राति १ बजेर ३७ मिनेट जाँदा उक्त समूहका एक सदस्यलाई आएको फोन कलमा भनिएको छ, 'एटीएस(एन्टी टेरोरिज्म स्क्वाड) चिफ मारियो । तिमीहरूले राम्रो काम गर्‍यौ । ताज होटेलमा एक भारतीय मन्त्री पनि छ, त्यहाँ आगो लगाउने प्रयास गर ।'

त्यतिबेलासम्म आक्रमणमा परी एटीएस चिफ हेमन्त करकरेको मृत्यु भइसकेको थियो । ताज होटलमा गोलाबारी गरिरहेको एक आतंककारीले फोनमा जवाफ फर्कायो- 'हामीले ४ वटा रूममा आगो लगाइसक्यौं ।'

उताबाट थप निर्देशन आयो– 'आगोको ज्वाला देखेर मान्छेहरू भागदौड गर्नेछन् । प्रत्येक १५ मिनेटमा एउटा ग्रिनेड फ्याँक्नुपर्छ ।'

null

त्यसको २ घण्टापछि ताज होटलमा रहेको उक्त आतंककारीलाई पुनः फोन आउँछ । फोनमा त्यहाँ ३ मन्त्री र एक सचिव रहेको जानकारी दिइन्छ ।'ती ३/४ जनालाई समाते भारतबाट जे चाहिन्छ, त्यो लिन सकिन्छ,' फोनमा आवाज आउँछ ।

त्यसपछि आतंककारीले जवाफ दिन्छ, 'उनीहरूलाई समात्न सकियोस् भनेर प्रार्थना गर्छु ।'त्यसपछि उसले पुनः भन्छ, 'सरी, तिनीहरू कुन कोठामा छन्, थाहा भएन ।'

null

२७ नोभेम्बरको राति पौने १० बजे वासी नामको आतंककारीले नरिमान हाउसमा नरसंहार मच्चाइरहेको अर्को आंतककारीलाई फोन गर्दै भन्छ, 'अपहरण गरिएका मान्छेको प्रयोग तिमीहरू आगोमा नपर्नेबेलासम्मका लागि हो । यदि कसैले तिमिविरुद्ध केही गर्न खोज्छ भने तत्कालै तिनीहरूलाई मार ।''भगवानको इच्छाले हामी त्यसै गर्छौं,' मुम्बईबाट जवाफ जान्छ ।

त्यसपछि उताबाट बोल्ने वासी भन्छ, 'त्यहाँको सेनाले अपहरितलाई सुरक्षित तरिकाले उद्दार गरिरहेको छ भन्ने दाबी गरेको छ । अर्को कुरा, इजरायलले आफ्ना नागरिक बचाउन कूटनीतिक च्यानलमार्फत कुरा अघि बढाएको छ । अपहरितलाई थप मार्ने हो भने भारत र इजरायलबीच कूटनीतिक सम्बन्ध खराब हुन्छ ।'जवाफमा आतंककारी भन्छ, 'भगवानको इच्छाअनुसार त्यस्तै भइरहेको छ ।'

null

नोभेम्बर २६ को साँझ करिब ९:२१ बजे पहिलो आक्रमण छत्रपति शिवाजी टर्मिनस (सीएसटी) स्टेसनमा गरिएको थियो ।मोहम्मद अजमल कसाब र इस्माइल खानले भीडभाड भएको स्टेसनमा अन्धाधुन्ध गोली चलाए । यो आक्रमण ९० मिनेटसम्म जारी रह्यो । यहाँ ५८ जनाले ज्यान गुमाए भने १०० भन्दा बढी घाइते भए ।

यता, अर्को समूहले नरीमन हाउसमा आक्रमण गर्दै बम विस्फोट गरायो । यस विस्फोटले वरपरका मानिसहरूको ध्यान तानेपछि आतंककारीले उनीहरूमाथि गोली चलाए ।यहाँ यहुदी नेता रब्बी, उनकी श्रीमती र पाँच इजरायली नागरिकलाई बन्धक बनाइयो । केही समयपछि उनीहरूको हत्या गरियो, तर रब्बीको दुई वर्षीय छोरा भने बाँच्न सफल भए ।

त्यही समय, ओबेरोई-ट्राइडेन्ट होटल र ताजमहल प्यालेस होटल पनि आक्रमणको निशानामा परे । आतंककारीले ताज होटलमा विभिन्न स्थानबाट प्रवेश गरी पाहुनामाथि गोली चलाए र ग्रिनेड विस्फोट गराए । स्विमिङ पुल, बार र रेस्टुरेन्टहरू नरसंहारको केन्द्र बने ।रातको करिब १०:३० बजे कसाब र इस्माइल खान कामा अस्पतालमा प्रवेश गर्न खोजे । तर, अस्पताल प्रशासनले समयमा सतर्कता अपनाउँदै बिरामीहरूलाई सुरक्षित राख्न सफल भयो ।

यहाँ असफल भएपछि उनीहरूले ६ प्रहरी अधिकारीको हत्या गरे, जसमा मुम्बईका आतंकवादविरोधी स्क्वाडका प्रमुख हेमन्त करकरे पनि थिए । पछि उनीहरू प्रहरीको घेराबन्दीमा परे । इस्माइल मारियो भने अजमल कसाब पक्राउ पर्‍यो ।नोभेम्बर २७ को बिहान ताज होटलका माथिल्ला तल्लामा आगो फैलियो । ठूलो संख्यामा पाहुनाहरूलाई होटलका कर्मचारीले सुरक्षित कोठामा लुकाएका थिए । यता, ओबेरोई-ट्राइडेन्ट होटलबाट ३० भन्दा बढी बन्धकलाई सुरक्षाकर्मीहरूले उद्धार गरे ।

नोभेम्बर २८ मा नरिमन हाउसको अपरेशन सकियो । यहाँ ७ जनाको मृत्यु भएको थियो । ओबेरोई-ट्राइडेन्टको घेराबन्दी समाप्त हुँदा करिब ३० जनाले ज्यान गुमाएका थिए ।नोभेम्बर २९ को बिहान ताज होटलमा अन्तिम आक्रमणकारीहरूलाई समाप्त गर्दै तीनदिन लामो आतंकको अन्त्य भयो ।

त्यहाँ ३१ जनाले ज्यान गुमाएका थिए ।अनुसन्धानका क्रममा भारतीय सुरक्षाकर्मीले पाकिस्तानमा बनेको अचार, जुस, डिजेल कन्टेनर, सलाईको बट्टा जस्ता धेरै सामग्री बरामद गरेका थिए ।आतंककारीले जीपीएस डिभाइस प्रयोग गरेका थिए । ती डिभाइसहरू पनि भारतीय सुरक्षाकर्मीले बरामद गरे ।

प्रतिक्रिया दिनुहोस