मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ मा एक लाख पर्यटक भित्र्याउने तयारी

रासस

शनिबार, ०८ मंसिर २०८१, १५ : ५८
मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ मा एक लाख पर्यटक भित्र्याउने तयारी

खोटाङ । ‘मुन्दुम ट्रेल’ (पदमार्ग) को पर्यटन प्रवर्द्धन गर्न पुस १७ गतेदेखि ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ सुरु हुँदैछ । मैयुङ–टेम्क–साल्पा–सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रको संयोजनमा आयोजना गर्न लागिएको ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ सफल पार्नका लागि आन्तरिक तयारीलाई तीव्रता दिइएको छ ।

‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ मा आन्तरिक तथा बाह्य गरी करिब एक लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको आयोजक मैयुङ–टेम्क–साल्पा–सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष रमेश राईले जानकारी दिए । ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ को अवसरमा खोटाङको केपिलासगढी गाउँपालिकामा ‘हनी हन्टिङ’ महोत्सव तथा गोठ स्टे (गोठवास) महोत्सव, खोटाङकै साकेला गाउँपालिकामा उभौली साकेला तथा अन्य सांस्कृतिक महोत्सव गरिने उनले बताए ।

त्यस्तै, भोजपुरको टेम्के मैयुङ गाउँपालिकामा गुराँस, घोडचढी तथा फिल्म सुटिङ महोत्सव, भोजपुर नगरपालिकामा अल्ट्रा म्याराथुन, माउन्टेन साइकिलिङ, साल्पा सिलिछो गाउँपालिकामा नछोङ (धामी) महोत्सव, षडानन्द नगरपालिकामा रुद्राक्ष महोत्सव, महाकुलुङ गाउँपालिकामा चाकचाकुर महोत्सवलगायत कार्यक्रम आयोजना गरिने पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष राईले जानकारी दिए ।

पहिलो पटक आयोजना गरिएको ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’मा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि मुन्दुम ट्रेल आसपासका स्थानीयले धमाधम होम–स्टे (घरवास) तथा गेष्ट हाउस (पाहुनाघर) निर्माण गरिरहेका छन् । नेपाल सरकारको १०० पर्यटकीय गन्तव्य सूचीमा पर्ने ‘मुन्दुम ट्रेल’ करिब १०७ किलोमिटर लामो दुरीको छ । प्राकृतिक रुपमै पर्यटकीयस्थल रहेको ‘मुन्दुम ट्रेल’ स्तरोन्नतिमा तीनवटै तहका सरकारको करोडौँ लगानीसमेत भइरहेको छ ।

‘मुन्दुम ट्रेल’ पदमार्गको दाँयाबाँया चौडा गर्ने, सुक्खा ढुङ्गाको सिँढी लगाउने र ढुङ्गाकै सोलिङ गर्नेलगायत आधारभूत भौतिक पूर्वाधारको काम भएको छ । खोटाङ र भोजपुरको पर्यटन प्रवर्द्धन तथा विकासमा ‘मुन्दुम ट्रेल’ पदमार्गले ठूलो सहयोग पुगेको खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एव नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रामकुमार राईले बताए ।

साकेला गाउँपालिका क्षेत्रभित्र पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्गखण्डमा स्थानीय सरकारको ३० प्रतिशत, प्रदेश सरकारको ३५ प्रतिशत र स्वीस सरकारको ३५ प्रतिशत गरी ९१ लाख ४५ हजार २५२ रुपैयाँमा ‘मुन्दुम ट्रेल’ स्तरोन्नतिको काम गरिएको छ । त्रिपक्षीय सम्झौताको आधारमा निर्माण सुरु गरिएको ‘मुन्दुम ट्रेल’ को अवधारणा विसं २०७५ पुस २१ गते औपचारिक रुपमा अघि सारिएको हो ।

प्राकृतिक सौन्दर्यमा रमाउन चाहने तथा किराती संस्कार, संस्कृति अध्ययन एवं अनुसन्धान गर्न आउने पर्यटकका लागि ‘मुन्दुम ट्रेल’ रोजाइमा पर्ने गरेको छ । पूर्वीपहाडी जिल्ला खोटाङ, भोजपुर, सोलुखुम्बू तथा सङ्खुवासभा सीमामा पर्ने यो मुन्दुम ट्रेल किरात समुदायको ऐतिहासिकतासँग सम्बन्धित छ ।

खोटाङ र भोजपुरको सीमामा पर्ने खिदिमास्थित तावाभञ्ज्याङबाट सुरु भएको यो पदमार्ग तीन हजार १६५ मिटरको टेम्केडाँडा हुँदै मैयुङ, तीन हजार ७५० मिटरको साल्पापोखरी तथा चार हजार १६५ मिटरको सिलिचुङसम्म पुगेर टुङ्गिन्छ । पहाडैपहाडको चुचुरामा निर्माण सुरु गरिएको मुन्दुम ट्रेल पदमार्ग पूरा गर्न विदेशीका लागि करिब १३ दिन तथा नेपालीका लागि १० दिन लाग्ने गरेको छ ।

हिमाल नजिकै पुगेर त्यसको सौन्दर्यमा रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि डाँडैडाँडा यात्रा गर्दा थकानको महसुस नहुने पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष राईले जानकारी दिए । पदमार्गमा अधिकांश किरात समुदायका बस्ती रहेको तथा उनीहरूको मौखिक ग्रन्थ ‘मुन्मुम’ मा उल्लेखित किराती जीवनशैली, संस्कार र संस्कृतिबारे वर्णन गरिने भएकाले पदमार्गको नाम ‘मुन्दुम ट्रेल’ राखिएको हो ।

ठूल्ठूला घाँसे मैदान, फराकिला चौरीखर्क तथा भेडीगोठका साथै घोडचढी अर्थात् घोडा चढ्न पाउनुले आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्दै आएको छ । दर्जनौँ प्रजातिका गुराँस, चाँप, कटुस, लोक्ता, विविध जडीबुटी तथा घना जङ्गल अवलोकनमा रम्न पाइने यस क्षेत्रको अर्को आकर्षण हो ।

मैयुङको हाँसपोखरी क्षेत्रमा पाइने विभिन्न प्रजातिका चराचुरुङ्गी, रेडपाण्डा, भीर मौरी र विभिन्न जङ्गली जनावरसँग त्यत्तिकै लुकामारी खेल्न पाइन्छ । सगरमाथाको चुचुरोमा पहिलो पाइला टेकेका तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सन् २०१० मा यही पदमार्गको एउटा रुट (बाटो) प्रयोग गर्नुभएको जनाइएको छ ।

मानव बस्ती कम पाइने ‘मुन्दुम ट्रेल’ पदमार्गमा पर्यटकको चहलपहल बढेसँगै उनीहरुका लागि स्थानीय गोठवालाले खाने तथा बस्ने व्यवस्था मिलाउने गरेका छन् । परम्परागतरुपमा सञ्चालन हुँदै आएको गोठलाई स्तरोन्नति गरेर गोठ–स्टे (गोठवास)को व्यवस्था मिलाएर स्थानीय परिकार, चौँरीको दूध, फापर, कोदो र गहुँको ढिँडो, लोकल कुखुरा, रायोको साग, आलु, सिमीलगायत स्थानीय उत्पादनलाई प्राथमिकता दिएका छन् ।

प्रतिक्रिया दिनुहोस