राष्ट्रिय प्रसारण लाइनमा जोडियो रसुवागढी, उपत्यकाको विद्युत् व्यवस्थापन सहज हुने

सफल खबर संवाददाता

विहीबार, ०६ मंसिर २०८१, १४ : १८
राष्ट्रिय प्रसारण लाइनमा जोडियो रसुवागढी, उपत्यकाको विद्युत् व्यवस्थापन सहज हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् आयोजनाको अगुवाइमा रसुवामा निर्माण भएको १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

रसुवा गोसाइँकुण्ड गाउँपालिकामा निर्माण भएको आयोजनाका ३७/३७ मेगावाटका तीन युनिटमध्ये एउटाबाट बुधबारदेखि परीक्षणका रूपमा विद्युत् उत्पादन सुरु गरिएको छ ।

आयोजनाले बुधबार परीक्षणका रूपमा ४.२ मेगावाट विद्युत् उत्पादन गरेको थियो । परीक्षण सफल भएपछि अब क्रमशः विद्युत् उत्पादन बढाउँदै लगिने छ । सबै युनिटबाट परीक्षण उत्पादन र तोकिएका मापदण्ड पूरा गरी करिब एक महिनाभित्र आयोजनाबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गरिने आयोजनाको प्रवद्र्धक रसुवागढी हाइड्रोपावर कम्पनीका प्रबन्ध सञ्चालक छवि गैरेले बताए ।

टिमुरे (तातोपानी) स्थित विद्युतगृहबाट आयोजनाले नै निर्माण गरेको १० किलोमिटर १३२ केभी प्रसारण लाइनमार्फत उत्पादित विद्युत् रसुवा आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित प्राधिकरणले बनाएको २२०/१३२/३३ केभी सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको छ ।

उक्त विद्युत् चिलिमे–त्रिशूली र त्यहाँबाट त्रिशूली–काठमाडौं २२० केभी प्रसारण लाइन हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ । चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न गरी २१ कात्तिकदेखि सञ्चालनमा ल्याइएको थियो ।

रसुवागढीबाट उत्पादित विद्युत् हिउँदयाममा काठमाडौं उपत्यकामा हुने माग व्यवस्थापनमा सहज हुनेछ । सुक्खायाम सुरुसँगै भोटेकोसी नदीमा पानी बहाब घट्न सुरु भएसकेकाले रसुवागढी आयोजनाबाट पूर्णक्षमतामा विद्युत् उत्पादन हुने छैन । हिउँद याममा आयोजनाबाट करिब ३७ मेगावाट मात्र विद्युत् उत्पादन हुनेछ ।

प्रतिक्रिया दिनुहोस