खशोग्गी प्रकरण : प्रश्नको घेरामा साउदी अरेबिया

एजेन्सी

आइतबार, ०४ कार्तिक २०७५, १६ : १३
खशोग्गी प्रकरण : प्रश्नको घेरामा साउदी अरेबिया

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पत्रकार जमाल खशोग्गीको मृत्युबारे साउदी अरेबियाले दिएको विवरणबाट आफ्नो 'चित्त नबुझेको' बताएका छन् ।

शुक्रवार रियादले खशोग्गी र आफ्नो वाणिज्य दूतावासभित्र उनले भेटेका मानिसहरूबीच भएको बाझाबाझले मृत्युको घटना निम्त्याएको बताएको थियो ।

तर साउदी अरेबियाले प्रस्तुत गरेको विवरणप्रति सन्देहहरू व्यक्त भइरहेका छन् ।

अक्टोबर २ मा टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावास गएदेखि खशोग्गी बेपत्ता भएका थिए ।

असर
टर्कीका अधिकारीहरूको विश्वास छ, साउदी सरकारका आलोचक खशोग्गीको हत्या गरिएको र उनका शव टुक्रा टुक्रा पारी फालिएको हुनुपर्छ ।

साउदी विवरणबारे ट्रम्पले भने, "हामीले जवाफ पत्ता नलगाएसम्म मेरो चित्त बुझ्नेछैन ।"

उनले थपे, "साउदी अरेबियामाथि प्रतिबन्धको विकल्प भए पनि उससँगको अस्त्र सम्झौता रोकिएमा उनीहरूलाई भन्दा हामीलाई बढी असर पर्नेछ ।"

साउदी अरेबियाका शक्तिशाली राजकुमार मोहम्मद बिन सलमानलाई खशोग्गीको हत्याबारे थाहा नहुनु 'सम्भव भएको' ट्रम्पको भनाइ छ ।

शुक्रवारअघि सम्म साउदी अरेबियाले खशोग्गीको अवस्थाबारे आफूसँग कुनै जानकारी रहेको कुरा अस्वीकार गर्दै आएको थियो ।

उसले पत्रकार खशोग्गी इस्तानबुलस्थित वाणिज्य दूतावास भवनबाट सकुशल बाहिरिएको बताउने गरेको थियो । 

प्रतिबद्धता
टर्कीले खशोग्गी बेपत्ता प्रकरणबारे सबै तथ्यहरू बाहिर ल्याइछाड्ने प्रतिबद्धता जनाएको छ ।

साउदी अरेबियाले खशोग्गीको हत्या गराएको आरोप सार्वजनिक रूपमा लगाउन चाहिँ टर्कीले अहिले बन्द गरेको छ ।

यद्यपि टर्कीका अनुसन्धानकर्ताहरूले साउदी एजेन्टहरूको एउटा समूहले नै खशोग्गीको हत्या गरेको बताएका छन् ।
आफूहरूसँग त्यसको श्रव्य र दृश्य प्रमाण समेत रहेको उनीहरूको भनाइ छ ।

टर्कीको प्रहरीले साउदी वाणिज्य दूतावास र वाणिज्य दूतको निवासका साथै नजिकैको जङ्गलमा पनि खोजतलास गरिरहेको छ ।

खशोग्गीको शव जङ्गल वा खेतमा गाडिएको हुनसक्ने अधिकारीहरूको आशङ्का छ ।

साउदी विवरणबारे कसले के भने?
साउदी अरेबियाका निकट साझेदारहरूले पनि खशोग्गी प्रकरणबारे उसको आलोचना गरिरहेका छन् ।

जर्मन चान्सलर एंगेला मर्केलले खशोग्गीको मृत्युबारे साउदी अरेबियाले दिएको विवरण 'अपर्याप्त रहेको' बताएकी छन् ।

फ्रान्सका विदेशमन्त्रीले 'कैयौँ प्रश्नहरू अनुत्तरित रहेको' प्रतिक्रिया दिएका छन् ।

ब्रिटेनको विदेश मन्त्रालयले 'भयानक कार्य'को संज्ञा दिएको छ र घटनामा संलग्नहरूलाई 'कानूनी दायरामा ल्याइनुपर्ने' बताएको छ ।

क्यानाडाले पनि साउदी विवरणमाथि प्रश्न उठाएको छ। उसकी विदेशमन्त्रीले साउदी विवरणमा 'एकरुपता र विश्वसनीयता नदेखिएको' बताएकी छन् ।

युरोपेली संघ र संयुक्त राष्ट्रसंघले घटनाबारे पर्याप्त अनुसन्धान गर्न आग्रह गरेका छन् ।

कैयौँ अमेरिकी सांसदले पनि खशोग्गीको मृत्युबारे साउदी अरेबियाले दिएको विवरणप्रति सन्देह प्रकट गरेका छन् ।

अष्ट्रेलियाले यसै महिनाको अन्त्यतिर रियादमा हुने लगानी सम्मेलनमा सहभागी नहुने घोषणा गरेको छ ।

यसअघि संयुक्त राज्य अमेरिका, ब्रिटेन, नेदरल्याण्ड्स र फ्रान्सका विदेशमन्त्रीले सो सम्मेलनमा नजाने घोषणा गरिसकेका छन् । -बीबीसी

प्रतिक्रिया दिनुहोस