नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय कबड्डी लिग आयोजना गर्दै

सफल खबर संवाददाता

मंगलबार, २७ कार्तिक २०८१, १३ : १७
नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय कबड्डी लिग आयोजना गर्दै

काठमाडौं। नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय कबड्डी लिग 'नेपाल कबड्डी लिग (एनकेएल)' आयोजना गर्ने भएको छ । एनकेएलमा नेपालसँगै इरान, भारत, जस्ता विभिन्न देशका खेलाडीले सहभागिता जनाउने छन् ।

एनकेएल लिगले क्षेत्रीय र अन्तर्राष्ट्रिय ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको एनकेएलका राष्ट्रिय प्रशिक्षक सन्दीपकुमार झाले बताए।

'यो नेपालको पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज कबड्डी लिग हो । हामीले यसलाई खेलाडी र यससँग सम्बन्धित अधिकारीहरूका लागि एकदमै ठूलो अवसरको रूपमा हेरेका छौं', झाले भने, 'खेलाडीहरूमा ठूलो उत्साह छ । हामी पनि नेपाली खेलकुद क्षेत्रमा योगदान गर्न पाउँदा निकै उत्साहित छौं।'

अल नेपाल कबड्डी लिगका महासचिव अरविन्दकुमार झाले २४ क्षेत्रीय टोलीको प्रयासपछि सातवटै प्रदेशबाट १२० भन्दा बढी खेलाडी छनोट भएको जानकारी दिए । उनले भने, 'अब हाम्रो लक्ष्य भनेको उत्कृष्ट खेलाडीहरूको ६ वटा टोली बनाएर लिलामी कार्यक्रमका लागि पठाउने रहेको छ ।'

एनकेएलले प्रशिक्षक र रेफ्रीहरूलाई उनीहरूको सीप बढाउन प्रशिक्षण दिने प्रतिबद्धता जनाएको छ ।  यो लिगले नेपाली कबड्डीलाई विश्वबजारमा चिनाउने आयोजकहरूको विश्वास छ । खेल माघको पहिलो सातादेखि गर्ने तयारी छ । 

प्रतिक्रिया दिनुहोस