देश बिगारेको भन्दै पाकिस्तानले धपायो एनजिओ र आइएनजिओलाई !

शुक्रबार, ०२ कार्तिक २०७५, १३ : ५०
देश बिगारेको भन्दै पाकिस्तानले धपायो एनजिओ र आइएनजिओलाई !

बीबीसी । पाकिस्तान सरकारले आईएनजीओहरुलाई आफ्नो कार्यक्रम बन्द गरेर ६० दिनभित्र पाकिस्तान छाडेर जान भनेको छ ।

प्रभावित हुने अनुदान संस्थाहरुमा एक्सन–एड र प्लान इन्टरनेशनल पनि छन् । एक्सन–एडले यो कदम पाकिस्तानमा ‘पछिल्लो समय नागरिक समाजमाथि बढेको धरपकड’को हिस्सा भएको आरोप लगाएको छ ।

पाकिस्तानको गृहमन्त्रीले यो विषयमा टिप्पणी गर्न अस्वीकार गरे । बीबीसीलाई प्राप्त एक्सन–एडलाई पठाइएको पत्रमा ६ महिनाभित्र यी संस्थाहरुलाई दर्ताको लागि पुनः आवेदन दिन सक्ने बताइएको छ ।

एक्सन–एडले बीबीसीलाई बताए अनुसार १८ वटा अन्तर्राष्ट्रिय दातृ संस्थाहरुलाई देशबाट निष्काशित गरिएको छ ।पछिल्लो कदम मानव अधिकारकर्मी र प्रेस स्वतन्त्रता अभियानकर्मीले देशमा वाकस्वतन्त्रताको अवस्थामा चिन्ता व्यक्त गरिरहेको अवस्थामा आएको छ ।

पाकिस्तानको गुप्तचर संस्थाले सन् २०११ यता आईएनजीओमाथि नजर राखिरहेको छ । सो वर्ष पाकिस्तानमा विन लादेन लुकेको आशंकामा उनी बसेको सेल्टर पत्ता लगाउन आइएनजीओलाई प्रयोग गरेर सिआइएले जाली खोप अभियान चलाएको आईएसआईले पत्ता लगाएको थियो ।

अधिकारीहरुले उक्त योजनामा ‘सेभ द चिल्ड्रेन’ले सघाएको आरोप लगाएका थिए । एक्सन–एड र अन्य कयौँ आइएनजीओहरुलाई सन् २०१७ डिसेम्बरमा पनि पाकिस्तान छाड्न आदेश दिइएको थियो ।

तर पश्चिमा सरकारहरुबाट दबाब पछि उनीहरुलाई देशमा रहन अनुमति दिइएको थियो भने उनीहरुले निर्णय पुनर्विचार गरियोस् भनेर निवेदन दिएका थिए ।

एक्सन–एड र प्लान इन्टरनेशन दुवैले अहिले तिनको निवेदन अस्वीकृत भएको भन्ने सुचित गरिएको पत्र प्राप्त भएको पुष्टि गरे । तर उनीहरुलाई यसको लागि कुनै कारण दिइएको छैन ।

एक्सन–एडका पाकिस्तानको लागि कार्यकारी निर्देशकका अब्दुल खलिकले बीबीसीसँगको कुराकानीमा हाल यो निर्णयमा थप कुनै पुनर्विचारको सम्भावना नरहेको बताए ।

उनले यस निर्णयले आफूहरुले गरिरहेको कामले सहयोग प्रदान भइरहेको हजारौँ कमजोर र सीमान्तकृत जनताहरु प्रभावित हुने चिन्ता व्यक्त गरे ।

एक वक्तव्य जारी गर्दै प्लान इन्टरनेशनले आफूहरुले वर्तमान समयमा ‘१६ लाख बढी बालबालिकाहरु’ लाई सहयोग पुर्याइरहेको र यो निर्णयबाट ‘दुःखी’ भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस