इजरायली फुटबल समर्थकको उद्धार लागि विमान पठाउन प्रधानमन्त्रीको निर्देशन

सफल खबर संवाददाता

शुक्रबार, २३ कार्तिक २०८१, १३ : २६
इजरायली फुटबल समर्थकको उद्धार लागि विमान पठाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। एम्स्टर्डममा भएको झडपमा इजरायली फुटबल समर्थक घाइते भएपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शुक्रबार दुईवटा उद्धार विमान नेदरल्याण्ड्स पठाउन निर्देशन दिएका छन्।     
     
प्रधानमन्त्री नेतान्याहुको कार्यालयले ‘इजरायली नागरिकविरुद्ध भएको हिंसात्मक घटना’को कारणबारे केही बताएको छैन। तर, डच सञ्चारमाध्यम एटी–फाइभले बिहीबार राति युरोपा लिगको एक खेलमा समर्थकहरूबीच झडप भएको उल्लेख गरेको छ।

बिहीबारको खेलमा इजरायली फुटबल टोली म्याकाबी तेल–अभिभले अजाक्स एम्स्टर्डमको सामना गरेको थियो। रिपोर्टअनुसार शहरको मध्यभागमा थुप्रै व्यक्तिबीच झगडापछि भौतिक आक्रमण र तोडफोडका घटनासमेत भएका छन्। 

‘प्रधानमन्त्री नेतान्याहुले यस भयानक घटनालाई अत्यन्त गम्भीरताका साथ लिनुभएको छ र डच सरकार र सुरक्षा बलहरूले दङ्गाकारीहरूविरुद्ध कडा र छिटो कदम चाल्न र इजरायली नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न माग गर्नुभयो’,नेतान्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।   

प्रहरी प्रवक्ताले एएनपी समाचार संस्थालाई दिएको जानकारीअनुसार घटनामा संलग्न रहेको आरोपमा ५७ जनालाई पक्राउ गरिएको छ।

बिहीबार एम्स्टर्डमको प्रहरीले सामाजिक सञ्जालमा एउटा भवनबाट प्यालेस्टाइनको झण्डा च्यातिएकोलगायत राजनीतिक संलग्नताको आरोप लागेका घटनालाई मध्यनजर गर्दै विशेष सतर्कता अपनाएको जनाएको छ।     

प्रतिक्रिया दिनुहोस