गाजामा शान्तिको प्रयास, युद्धविराम वार्ता पुनः शुरू गर्न इजरायल सहमत

सफल खबर संवाददाता

शुक्रबार, २५ साउन २०८१, १४ : १५
गाजामा शान्तिको प्रयास, युद्धविराम वार्ता पुनः शुरू गर्न इजरायल सहमत

काठमाडौं। गाजा– विश्वव्यापी दबाब र अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्ताहरूको अनुरोधमा अगस्ट १५ देखि गाजा युद्धविराम वार्ता पुनः शुरू गर्न इजरायल सहमत भएको प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले जनाएको छ ।  

गाजास्थित हमास नियन्त्रित नागरिक सुरक्षा निकायले दुईवटा विद्यालयमा गरिएको इजरायली आक्रमणमा बिहीवार पनि १८ जनाभन्दा बढीको मृत्यु भएको जनाएको छ ।नोभेम्बरमा एक हप्ता लामो युद्धविरामपछि मध्यस्थकर्ताहरूले युद्ध अन्त्य र शान्ति स्थापनाका लागि दोस्रो युद्धविरामको प्रयास गरेका छन् ।

 

 

बिहीवार संयुक्त वक्तव्य जारी गर्दै तीन देशका नेताहरूले युद्धरत पक्षहरूलाई अगस्ट १५ मा दोहा वा कायरोमा पुनः वार्ता गरी सम्झौताको प्रभावकारी कार्यान्वयन गर्न अनुरोध गरेका छन् ।

मध्यस्थकर्ताहरूले सम्झौता ढाँचा प्रस्तुत गरिसकिएको जनाउँदै कार्यान्वयनका लागि सहमतिको विवरणसहित निष्कर्षमा पुग्न बाँकी रहेको उल्लेख गरेका छन् । नेतान्याहुको कार्यालयले इजरायलले अगस्ट १५ मा सम्झौता कार्यान्वयनको विवरण तयार गर्न तोकिएको स्थानमा वार्ता टोली पठाउने जनाएको छ ।

 

गाजामा बन्दी बनाइएकाहरूको रिहाइ र सहायता वितरणलगायतका विषयमा चरणबद्धरूपमा छलफल गर्ने विषयमा युद्धविराम सम्झौता केन्द्रित हुनेछ । यो युद्धविरामसम्बन्धी छलफल अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रस्तावित ढाँचामा केन्द्रित रहेको जनाइएको छ । जुन ढाँचा इजरायली प्रस्तावमा तयार भएको हो ।  

हनियाको मृत्युपछि हमासले इजरायल आक्रमणका प्रमुख योजनाकार याह्या सिनवारलाई नयाँ नेताको रूपमा नियुक्त गरेपछि वार्ताको घोषणा आएको हो।