जम्मू-कश्मीर विधानसभामा हंगामा, सांसदहरूबीच हात हालाहाल

सफल खबर संवाददाता

विहीबार, २२ कार्तिक २०८१, १४ : २८
जम्मू-कश्मीर विधानसभामा हंगामा, सांसदहरूबीच हात हालाहाल

काठमाडौं।  भारतको जम्मू-कश्मीर विधानसभामा हंगामा मच्चिएको छ।  विधानसभाभित्र सत्ता पक्ष र विपक्षी सांसदहरूबीच हात हालाहाल समेत भएको छ। जसमा भारतीय जनता पार्टी (भाजपा)का तीन जना सांसद घाइते भएका छन् । विधान सभाको धारा ३७० को विषयलाई लिएर सदनमा तनाव उत्पन्न भएपछि सभामुखले सदनको कारबाही २० मिनेटका लागि स्थगित गर्नुपर्‍यो ।

सत्तापक्षका सांसद खुर्शीद अहमद शेखले धारा ३७० [स्पेशल स्टेटस] कायम राख्नुपर्ने उल्लेख गरेको ब्यानर सदनमा प्रदर्शन गरेका थिए । उनले राज्य सभा विधानको धारा ३७० र उपधारा ३५ए लाई यथावत राख्नुपर्ने र सबै राजनीतिक कैदीहरूलाई रिहा गर्नुपर्ने बताए ।

सांसद शेखले यस्तो माग राखेर ब्यानर प्रदर्शन गरेपछि भाजपा सांसद एवं विपक्षी नेता सुनिल शर्माले आपत्ति जनाए ।

 

 

 

 

विपक्षी सांसदले सांसद शेखको हातबाट उक्त ब्यानर खोसेर च्यातिदिएपछि सदनमा नाराबाजी र होहल्ला सुरु भएको थियो। सांसदहरू होहल्ला गर्दै बेलतर्फ अघि बढ्न खोजेपछि सभामुखले बेलमा आउन खोज्नेलाई बाहिर निकाल्न भनेर आदेश दिए । त्यसक्रममा मार्शल लगाएर भाजपाका केही सांसदलाई बाहिर निकालिएको थियो ।

सदन तनावग्रस्त बनेपछि सभामुखले सदनको कारबाही स्थगित गरे । तरपनि भाजपाका सांसदहरूले विरोध प्रदर्शन जारी राखे। उनीहरूले 'विशेष दर्जा प्रस्ताव फिर्ता ले' भन्दै नारा लगाए। सदनको कारबाही स्थगित भएपछि पनि भाजपाको नाराबाजी कायम रहेपछि सभामुखले भने–'यो विधानसभा हो, माछा बजार होइन ।'

 

 

भाजपा अध्यक्ष रवीन्द्र रैनाले कांग्रेस र सरकारले जम्मू-कश्मीरमा आ‌तं‌कवादी र पृथकतावादीको एजेण्डालाई फेरि ब्युँताउने कोशिस गरिरहेको आरोप लगाए । धारा ३७० का विषयमा जम्मू-कश्मीर विधानसभाको कुनै लिनुदिनु नरहेको उनको भनाइ छ।

उनले कांग्रेस-नेशनल कन्फ्रेन्स सरकारले चोर बाटोबाट धारा ३७० को प्रस्ताव विधानसभामा ल्याउनु गैरकानुनी र असंवैधानिक रहेको दाबी गरे। 'यो देशमाथि गरिएको गद्दारी हो। भाजपा यो एजेण्डालाई कुनै हालतमा लागू हुन दिने छैन', उनले भनेका छन् । 

भाजपाका अर्का नेता कविन्द्र गुप्ताले जम्मू-कश्मीर विधानसभामा सभामुख सरकारको एजेन्टका रूपमा प्रस्तुत भइरहेको आरोप लगाए  । 'आज जसरी सभामुखले भाजपा सांसदलाई मार्शलद्वारा निकालेर गुण्डागर्दीको परिचय दिए । यो सहन सक्ने कुरा होइन', उनले भने । 

प्रतिक्रिया दिनुहोस