मेक्सिकोमा भेटियो हराएको माया सहर

सफल खबर संवाददाता

सोमबार, १९ कार्तिक २०८१, १५ : ४५
मेक्सिकोमा भेटियो हराएको माया सहर

मेक्सिको सिटी । शताब्दीयौंदेखि मेक्सिकोको जङ्गलमा हराइरहेको माया सभ्यताको शहर खोजिएको छ । यो पुरानो लुप्त सहर कुनै दिग्गज पुरातत्वविद्हरूले नभएर एक अनुसन्धान छात्रले पत्ता लगाएका हुन् ।

पीएचडीका विद्यार्थी ल्यूक औल्ड–थोमसले पुरानो डाटाको पुनः विश्लेषण गरेपछि संयोगवश सहर पत्ता लगाएका थिए । उनले यसअघि अरु पुरातत्वविद्हरूले नदेखेका पिरामिड, पुल, एम्फीथिएटर र खेल मैदानहरू पनि पत्ता लगाएका छन् ।

सहर लेजर सर्वेक्षणको एउटा प्रकार भनिने लाइडारको प्रयोग गरेर पत्ता लगाइएको थियो । यो निकै ठुलो सहर थियो । ७५० देखि ८५० ईस्वीको बिचमा आफ्नो उत्कर्षमा भएको समयमा यसमा ५० हजारभन्दा धेरै घर रहेको हुन सक्ने अनुमान गरिएको छ । सहरको नाम वेलेरियाना राखिएको छ । सहर शताब्दीयौंदेखि मेक्सिकोको जंगलमा लुकेर बसेको थियो ।

उत्तरी एरिजोना विश्वविद्यालयका मानवशास्त्री ल्यूक औल्ड–थोमसले लाइडार नामक अत्याधुनिक लेजर म्यापिङको प्रयोग गरेर दक्षिण–पूर्वी मेक्सिकन राज्य क्याम्पेचेमा यो सहर पत्ता लगाएका हुन् ।

लामो समयसम्म, माया सभ्यताको नमुना जम्मा केही सय वर्ग किलोमिटर मात्र रहेको अनुमान गरिएको थियो । सो नमुना पनि पुरातत्वविद्हरूले धेरै मेहनत गरेपछि मात्रै हासिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस