अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले साउदी अरेबियाका पत्रकार जमाल खशोग्गी बेपत्ता भएको सम्बन्धमा सबै तथ्यहरू थाहा नभएसम्म विश्वले साउदी नेताहरूको आलोचना गर्न नहुने बताएका छन् ।
साउदी राजकुमार मोहम्मद बिन सलमानले टर्कीस्थित आफ्नो देशको वाणिज्य दूतावासमा के भएको हो भन्ने विषयमा आफूलाई कुनै जानकारी नभएको बताएको पनि ट्रम्पले उल्लेख गरे ।
दुई हप्ताअघि टर्कीको इस्तानबुलस्थित साउदी अरेबियाको वाणिज्य दूतावास गएदेखि पत्रकार खशोग्गी बेपत्ता छन् । उनी खासगरी साउदी राजकुमार मोहम्मदका कतिपय नीतिका आलोचक थिए ।
प्रमाण
घटनाबारे कुराकानी गर्न आफ्ना विदेशमन्त्री माइक पोम्पेओलाई रियाद पठाएका राष्ट्रपति ट्रम्पले साउदी अरेबियामाथि आरोप लगाउने कुरा 'निर्दोष साबित नहुञ्जेल दोषी' भएजस्तो भएको टिप्पणी गरे ।
नाम उल्लेख नगरेका टर्कीका अधिकारीहरूका अनुसार साउदी वाणिज्य दूतावासमा गरिएको खोजतलासबाट खशोग्गीलाई त्यही मारिएको भन्नेबारे थप प्रमाण पाइएको छ ।
पत्रकार बेपत्ता प्रकरणलाई लिएर साउदी अरेबिया आफ्ना नजिककै साझेदारहरूबाट दबाबमा परेको छ । अक्टोबर २ मा साउदी वाणिज्य दूतावास प्रवेश गर्ने बेलासम्म खशोग्गी सकुशल नै थिए ।
अस्वीकार
तर साउदी अरेबियाले वाणिज्य दूतावासभित्र उनको हत्या गरिएको आरोप अस्वीकार गर्दै आएको छ र उनी त्यहाँबाट सकुशल बाहिरिएको बताउने गरेको छ ।
वाणिज्य दूतावासभित्रै खशोग्गीको हत्या गरिएको भन्ने टर्कीका अधिकारीहरूको आरोपलाई रियादले 'झूट'को संज्ञा दिँदै आएको छ ।
साउदी राजकुमार मोहम्मदसँग महत्त्वपूर्ण अधिकार छ र खशोग्गीलाई के भएको हो भन्ने कुरामा उनैलाई जिम्मेवार ठहर्याइँदैछ ।
आफ्नो पछिल्लो ट्वीटमा राष्ट्रपति ट्रम्पले लेखेका छन्, मैले राजकुमार मोहम्मदसँग टेलिफोनमा कुराकानी गरेँ र उनले टर्कीस्थित वाणिज्य दूतावासमा के भएको हो भन्नेबारे आफूलाई कुनै जानकारी रहेको कुरा पूर्ण रूपमा अस्वीकार गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ३१ असोज २०७५, १४ : १०
लेखकबाट थप