हेटौँडालाई स्थायी राजधानी बनाउन माग

सोमबार, २९ असोज २०७५, १९ : २३
हेटौँडालाई स्थायी राजधानी बनाउन माग

हेटौँडा । मकवानपुरको हेटौँडामा स्थायी राजधानी राख्नका लागि आवश्यक पर्याप्त पूर्वाधार, स्वच्छ वातावरण भएकाले राजनीतिक विवादभन्दा माथि उठेर ३ नं प्रदेशसभाका सदस्य, केन्द्रीय सरकार र प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ । मकवानपुर जिल्ला समन्वय समितिको आज यहाँ सम्पन्न भएको तेस्रो जिल्ला सभा भेलाले सर्वसम्मतरुपमा हेटौँडामा स्थायी राजधानी राख्ने निर्णय गरेको हो । 

मकवानपुर जिल्लाबाट निर्वाचित जनप्रतिनिधिका लागि आफ्नो पहिचान राख्न एकरुपता कायम गर्न आपसी सम्मानका लागिसमेत औपचारिक कार्यक्रमको प्रयोजनका लागि पोशाक र जिल्लाको पहिचान झल्किने लोगो निर्धारण गर्ने निर्णय पनि गरेको छ । 

यसैगरी सोही भेलाले नदीजन्य बालुवा, गिट्टी, ढुङ्गा उत्खनन, ओसार–पसार र निकासी गर्ने क्रममा प्राकृतिक सम्पदालाई अनियन्त्रित चोरीबाट जोगाउन नयाँ कानूनी मापदण्ड तयार गरी कार्यान्वयन गर्न केन्द्रीय सरकार र प्रदेश सरकारलाई पहल गर्ने निर्णय गरेको छ । सर्वसाधारण नागरिकको निजी घर निर्माण र विकास योजना निर्माणका लागि चाहिने ढुङ्गा, गिट्टी, बालुवा सामग्री सुलभ ढङ्गबाट उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयलाई माग गरिने भएको छ । 

भेलाले विपत् व्यवस्थापन, पूर्वाधार संरक्षणमा गाउँपालिकाले नदीजन्य स्रोतबाट उठेको रकमको कम्तीमा २० प्रतिशत रकम प्रभावित क्षेत्रमा संरक्षणसम्बन्धी कार्यक्रममा लगानी गर्न जिल्ला समन्वय समितिले सहयोग र सहकार्य गर्ने निर्णय गरेको छ । 

समारोहमा मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले स्थानीय निकायको क्षमता अभिवृद्धि गरी जनतालाई दिगो लाभ दिने विकास आयोजना सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिनुभयो । 

भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, मनहरि गाउँपालिकाको अध्यक्ष एकराज उप्रेती, इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामा, थाहा नगरपालिकाका प्रमुख लवशेर विष्ट र हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख मीना लामाले हेटाँैडाबाट काठमाडौँ जोड्ने सुरुङ्गमार्गको निर्माण कार्यलाई सहज तुल्याउन र स्थानीय तहको विकास निर्माणका लागि योजना र बजेट यथाशीघ्र उपलब्ध गराउन आग्रह गर्नुभयो ।  (रासस) 

प्रतिक्रिया दिनुहोस