एक सातामै रुपन्देहीबाट लाखौको अवैध सामान बरामद

सफल खबर संवाददाता

मंगलबार, ०६ कार्तिक २०८१, १० : ४३
एक सातामै रुपन्देहीबाट लाखौको अवैध सामान बरामद

भैरहवा । चाडपर्वको समयमा तस्करहरु खुला सिमाको फाइदा उठाउदै अवैध ओसारपसार गरिरहेका छन । प्रशासन पनि सुरक्षा व्यवस्थापन, चोरी तस्करी तथा अवैध ओसारपसार नियन्त्रणका लागि योजना बनाएर खटिएको छ ।

भन्सार कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी अवैध ओसारपसार न्यूनिकरणमा लागिरहदा पनि तस्करहरुले विभिन्न मौकामा अवैध ओसारपसार गरिरहेका छन । सोही क्रममा एक सातामा मात्रै लाखौको सामान रुपन्देहीबाट बरामद भएको छ । 

सोमबार अवैध रुपमा नेपाल भित्रिएको ४ सय ७१ बोरा चिनी २ वटा गोदामबाट नियन्त्रणमा लिइएको छ । भन्सारको कामसँगै तस्करी नियन्त्रणमा लागेको भन्सार कार्यालयले सूचनाको आधारमा अवैध सामान नियन्त्रणमा लिएको छ । हालै मात्रै भन्सार कार्यालयको प्रमुखका रुपमा आएका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीको कमाण्ड टोलीले सक्रिय रुपमा निगरानी बढाउदै अवैध बस्तु धमाधम नियन्त्रणमा लिएको छ । 

विशेष सूचनालाई आधारमै भन्सार कार्यालय प्रमुख र सशस्त्र प्रहरी बल नेपाल बीओपी, डण्डा (प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा, रुपन्देही)ले संयुक्त टोलीले भारतबाट भैरहवामा भित्रिएको अवैध चिनीको गोदाम नियन्त्रणमा लिएको हो ।

संयुक्त टोलीले सिद्धार्थनगर नगरपालिकाका–४ स्थित गल्लामण्डी सुगरमिल क्षेत्रमा सैगै रहेको दुईबटा गोदामबाट ४७१ बोरा अर्थात २३ हजार ५ सय ५० किलो अवैध चिनी नेपाली बोरामा प्याक गरी भण्डारण गरेको अवस्थामा बरामद गरिएको भन्सार प्रमुख रेग्मीले जानकारी दिए । 

हामीले नियमित कामसँगै अवैध निकासी–पैठारी नियन्त्रणका लागि पनि संयन्त्र परिचालन गरेका छौं, विभिन्न ठाउँबाट आउने सूचनाहरुलाई आधार बनाई काम गरिरहेका छौ जस्को फलस्वरुप सोमबार ठूलो मात्रामा अवैध चिनी बरामद भएको छ ’, भन्सार प्रमुख रेग्मीले भने ।

हामीसँग भएको सिमित जनशक्तिबाट अधिकतम प्रयोग गरी सुरक्षाका लागि सशस्त्र प्रहरी बलको सहयोग र समन्वयमा काम गरिरहेका छौ । भन्सार र सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा,रुपन्देहीका प्रमुख डीएसपी चन्द्रकुमार थापाको कमाण्डमा खटिएको टोलीको विशेष निगरानील१५ लाख बढिको अवैध चिनी बरामद भएको हो । 

खुल्ला सीमाको फाइदा उठाउँदै तस्करहरूले साइकल, मोटरसाइकल, रिक्सामा भन्सार छलेर थोरै–थोरै परिमाणमा सामग्री भित्राएर डम्प गर्ने गर्दछन् । नोपली बोरामा ति सामान प्याक गरी ठूलो परिमाण पछि बीजक जारी गरेर गाडीमा मुलुकका विभिन्न स्थानमा पठाउने गर्छन ।

यस्तै बिहीबार पनि सिमेन्टको ट्रकमा १२ पोका कपडा नियन्त्रणमा आएको छ । भारतबाट अवैध रुपमा तस्करी गरेर ल्याइएका कपडा नेपाली सिमेन्ट सहित नियन्त्रणमा लिइएको छ । रुपन्देहीको सियारी गाउँपालिकाको धम्सर क्षेत्रबाट ना ६ ख ७६०५ नम्बरको ट्रकमा अगाडि सिमेन्ट राखी लुकाएर कपडा लैजादै गरेको विशेष सुचना प्रमुख जिल्ला अधिकारी गणेश अर्याल मार्फत आएपछि सशस्त्र प्रहरीको टोलीले सो सामान ट्रक सहित नियन्त्रणमा लिएको हो । 

सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा. रुपन्देही र स.प्र.बल, नेपाल सुरक्षा बेश अमुवाबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने बुटवल सडक खण्डमा रोकी राखेको सिमेन्ट बोकेको ट्रकबाट लेडिज कुर्ता सलवार, लेडिज कुर्ती, लेडिज जुत्ता चप्पल र सिद्धार्थ सिमेन्ट सहित ट्रक नियन्त्रणमा लिएको छ जस्को मुल्य ५३ लाख ४ हजार रहेको छ । भारतबाट भन्सार छली अवैध रुपमा नेपाल भित्रिएका यि सामान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया बुझाएको छ । 

बरामद कपडा तौलन भनिने राधेश्यामको भन्ने बुझिएको छ, यस अघि पनि उनको सामान नियन्त्रणमा आएको थियो । मोटरसाइकलबाट सिमा पार गरि विभिन्न नाकाबाट अवैध रुपमा कपडा भित्रियाई उनले जिल्लाबाहिर कपडा पठाउने गर्छन । 

तस्करहरु विभिन्न नाकाबाट तस्करी गरेपनि प्रशासनको समन्वयमा भएको सुरक्षा चेकजाँचले उनीहरुलाई निरुत्साहित गर्ने योजनामा छ । 

प्रतिक्रिया दिनुहोस