१४ वर्षीया किशोरीको हत्या, आरोपमा ५८ वर्षीय पुरुष पक्राउ

सफल खबर संवाददाता

सोमबार, २८ असोज २०८१, ०८ : ०५
१४ वर्षीया किशोरीको हत्या, आरोपमा ५८ वर्षीय पुरुष पक्राउ

डडेल्धुरा । डडेल्धुराको पोखरा भन्ने ठाउँमा १४ वर्षीया किशोरीको हत्या भएको छ। किशोरीको हत्या गरेको आरोपमा एकजना स्थानीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।  

शनिबार डडेल्धुराको पोखरा बजारमा मृत फेला परेकी १४ वर्षीया आरती भट्टराईको हत्या आरोपमा पक्राउ परेका स्थानीय स्टेसनरी व्यापारी ५८ वर्षीय टेकबहादुर भण्डारीलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो। 

ती किशोरी डडेलधुराकै अमरगढी नगरपालिका–७ की हुन्। डडेल्धुरा प्रहरीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार भण्डारीले किशोरीको हत्या गरेको स्वीकार गरिसकेका छन्। 

‘घटना निज टेकबहादुर भण्डारीको स्टेसनरी पसलमै गरेको हो’, डिएसपी श्रेष्ठले भने,  ‘पसलभित्र कोठामा आवेगमा आएर किशोरीको घाँटी थिची हत्या गरेको भण्डारीले स्वीकार गरेका छन्।’ स्थानीयले भने बलात्कारपछि उनको भएको दाबी गर्दै कडा कारबाहीको माग गरेका छन्। 

किशोरीको शवको प्रतिवेदन आइनसकेको र त्यसबारे अहिले भन्न नसकिने प्रहरीले जनाएको छ।  ‘जवरजस्ती करणी गर्न खोज्दा किशोरीले अस्वीकार गरेपछि आवेगमा आएको पनि हुनसक्ने हाम्रो अनुमान छ। तर यकिन जानकारी अहिले नै प्राप्त भइसकेको छैन’, उनले भने।

किशोरी भट्टराई असोज २५ गते बेलुका ४ बजे घरबाट धान कुटाउनका लागि बजार नजिकैको मिलमा गएकी थिइन्। पसलमा कुराकानीकै क्रममा आवेशमा आएका भण्डारीले पसलभित्रै किशोरीको हत्या गरेका हुन्।

प्रतिक्रिया दिनुहोस