पाकिस्तानमा अज्ञात आक्रमणकारीद्वारा २० जना मजदुरको हत्या

सफल खबर संवाददाता

शुक्रबार, २५ असोज २०८१, १२ : ५९
पाकिस्तानमा अज्ञात आक्रमणकारीद्वारा २० जना मजदुरको हत्या

एजेन्सी  । पाकिस्तानको बलुचिस्तानको दुक्की जिल्लामा अज्ञात आक्रमणकारीले २० जनाको हत्या गरेको छ । खानीमा काम गरिरहेका मजदुरमाथि अज्ञात आक्रमणकारीले आक्रमण गर्दा अरू सात जना मजदुर घाइते भएको बताइएको छ । स्थानीय अधिकारीका अनुसार बिहीबार राति दुक्की प्रहरी चौकी क्षेत्रमा यो हमला गरिएको हो ।

खानीमा कार्यरत मजदुरमाथि गोली प्रहारको घटना डक्की शहरबाट करिब आठ किलोमिटर टाढा रहेको खैर मोहम्मद नासिर क्षेत्रमा भएको हो । ‘हिजो राति अज्ञात बन्दुकधारीहरूको समूह उक्त क्षेत्रमा प्रवेश गरी कोइला खानी नजिक कामदारहरूलाई निशाना बनाउन थाले,’ एसएचओ हुमायुन नसिर खानले भने । 

मृत्यु हुनेमा चार जना अफगानिस्तानका कामदार रहेको एसएचओ खानले जानकारी दिएका छन् । अन्य चाहिँ बलुचिस्तानको झोब, किला सैफुल्लाह, पशिन, मुसा खेल र कुचलकका बासिन्दा थिए ।

खानी मजदुरमाथि भएको आक्रमणको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन । यद्यपी यसअघि पनि बलोच लिबरेसन आर्मी (बीएलए)ले यस्ता आक्रमणको जिम्मेवारी लिँदै आएको छ । 

यस आक्रमणको विरोधमा दुक्कीको मुख्य चोकमा विरोध प्रदर्शन गर्ने स्थानीय पत्रकार अब्दुल हाकिम नासिरले बताएका छन् । घटनाको विरोधमा क्षेत्रका बजार बन्द रहने उनले बताए । यस वर्ष बुलिस्तानमा ठूलो मात्रामा कामदारलाई निशाना बनाइएको छ । निशाना बनाइएका अधिकांश कामदार पाकिस्तानको पञ्जाबका बासिन्दा हुन् ।

प्रतिक्रिया दिनुहोस