लगानीमैत्री वातावरण बनाउने जिम्मा सरकारले लिन्छ : मुख्यमन्त्री आचार्य

सफल खबर संवाददाता

शनिबार, १९ असोज २०८१, १४ : २६
लगानीमैत्री वातावरण बनाउने जिम्मा सरकारले लिन्छ : मुख्यमन्त्री आचार्य

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लगानीमैत्री वातावरण निर्माण गर्ने जिम्मेवारी सरकारले लिने बताएका छन् । रुपन्देही उद्योग सङ्घको ४६ औँ वार्षिक साधारणसभालाई आज बुटवलमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सो कुरा बताएका हुन् ।

उनले लगानीमैत्री वातावरण बनाउन तीन तहकै सरकार प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । प्रदेश सरकारले अगाडी बढाएका औद्योगिक क्षेत्रको विकासको लागि योजनाबद्ध काम हुने बताए।

लुम्बिनी प्रदेश सरकारले तराईका केही जिल्लाहरूमा औद्योगिक क्षेत्र बनाउने गरी निर्णय गरेको थियो । सो निर्णयहरूको कार्यान्वयन गर्नेगरी काम अघि बढ्ने समेत खुलाए।

उद्योगी, व्यवसायीको उत्साहसँग प्रदेशको समग्र विकासको सम्बन्ध जोडिएको भन्दै मुख्यमन्त्री अचार्यले सरकारले उद्योगी मैत्री नीति अवलम्बन गरेको बताए। सरकारले लगानीको वातावरण बनाइदिने र निजी क्षेत्रले लगानी गर्नुपर्ने उनको भनाई थियो ।

स्थानीय उत्पादनलाई बढाउने र आयात भन्दा निर्यातमा जोड दिन जरुरी रहेको उनको भनाई थियो ।

उनले स्थानीय उत्पादनको बजारीकरणका लागि सरकारले सहयोग गर्ने समेत बताए । व्यवसायीहरूलाई पर्ने कानुनी जटिलताको गाँठो फुकाउन सरकार तयार रहेको समेत उनले बताए। 

प्रतिक्रिया दिनुहोस