ताइवानमा अस्पतालमा आगलागी, आठ जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, १७ असोज २०८१, १४ : ३५
ताइवानमा अस्पतालमा आगलागी, आठ जनाको मृत्यु

ताइपेइ । दक्षिणी ताइवानको पिङटुङ काउन्टीमा बिहीबार अस्पतालमा भएको आगलागीमा परी समाचार तयार पार्दासम्म आठ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि, ताइवानबाट सम्प्रेषित एएफपीको समाचारमा मृतक सङ्ख्या नौ पुगेको बताइएको छ ।

पिङटुङ काउन्टी सरकारले आगलागीस्थलबाट उद्धार गरिएका छ जना पुरुष र दुई जना महिला गरी आठ जनाको घटनास्थलमा नै मृत्यु भएको जनाएको छ ।  स्थानीय दमकल विभागले बिहान ७ः ४१ बजे अन्ताइ तियान–शेङ मेमोरियल अस्पतालको एक भवनबाट बाक्लो धुवाँ निस्केको जानकारी पाएको जनाएको छ।

अस्पतालका अवैतनिक डीन सु चिङ–चुआनले यसअघि सञ्चारकर्मीसँग कुरा गर्दै अस्पतालको भवनको मेशिन कक्षमा एयर कम्प्रेसर जलाइएका कारण आगलागी भएको र अधिकांश पीडितहरू अस्पतालमा भर्ना भएका वृद्ध बिरामीहरू रहेको बताएका थिए।

घटनास्थलमा रहेका उद्धारकर्मीले स्थानीय सञ्चारमाध्यमलाई आगो नियन्त्रणमा आइसकेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस