दिल्ली प्रहरीले बरामद गर्‍यो २० अर्ब भारुको कोकिन

सफल खबर संवाददाता

बुधबार, १६ असोज २०८१, १६ : ४३
दिल्ली प्रहरीले बरामद गर्‍यो २० अर्ब भारुको कोकिन

नयाँ दिल्ली । दिल्ली प्रहरीले ठुलाे परिमाणमा कोकिन बरामद गरेको छ । राजधानी दिल्लीमा बुधवार ५०० केजीभन्दा बढी तौलको २० अर्ब भारु बराबरको कोकिन फेला पारेको बताइएको छ ।

 

राजधानीमा अहिलेसम्म फेला परेको यो सबैभन्दा ठुलो परिमाणको लागुऔषध भएको बताइएको छ । दक्षिण दिल्लीमा छापा मारेर लागु औषध बरामद गरेपछि चार जनालाई पक्राउ गरिएको छ ।

दिल्ली प्रहरीको विशेष सेलको टोलीले दक्षिण दिल्लीको महरौलीबाट चार जनालाई पक्राउ गरी ५६५ किलोभन्दा बढी तौलको कोकिन बरामद गरेको हो ।

पक्राउ परेका व्यक्तिहरूले दिल्ली र राष्ट्रिय राजधानी क्षेत्रमा कोकिन बेच्ने योजना बनाएको अधिकारीहरूले भनेका छन् । विशेष सेलको टोलीले दुई महिनाभन्दा बढी समयदेखि गोप्य सूचनाका आधारमा काम गरिरहेकोले चाडपर्वअघि नै यो खुलासा भएको उनले बताए । चारै जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको बताइएको छ।

दिल्लीको तिलक नगर क्षेत्रमा आइतबार दुई अफगान नागरिकलाई पक्राउ गरेपछि यो काण्डको भन्डाफोर भएको थियो । उनीहरूको साथबाट ४ सय ग्राम हेरोइन र १६० ग्राम कोकिन बरामद भएको थियो ।

सोही दिन दिल्ली भन्सारले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा एक यात्रुको साथबाट २४ करोड रुपैयाँभन्दा बढी मूल्यको १ हजार ६६० ग्राम कोकिन बरामद गरेको थियो। यात्रु रिपब्लिक अफ लाइबेरियाका नागरिक थिए । उनी दुबईबाट दिल्ली आएका थिए । उनलाई एनडीपीएस ऐन १९८५ अन्तर्गत पक्राउ गरिएको छ।

प्रतिक्रिया दिनुहोस