जाजरकोटको विद्यालयलाई ७ लाखभन्दा बढी सहयोग हस्तान्तरण

सफल खबर संवाददाता

बुधबार, १६ असोज २०८१, १४ : १७
जाजरकोटको विद्यालयलाई ७ लाखभन्दा बढी सहयोग हस्तान्तरण

काठमाडौँ । नेकपा माओवादी केन्द्रको तत्कालीन प्रवास समन्वय समितिले संकलन गरेको रकम भूकम्पबाट प्रभावित जाजरकोटको एक विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

माओवादी केन्द्रको एसिया संगठन समितिका सहइन्चार्ज तथा तत्कालीन प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले नलगाडस्थित श्री जनआदर्श प्राथमिक विद्यालयका लागि नलगाडका मेयर डम्मर बहादुर रावतमार्फत ७ लाख ८ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

शर्मा तत्कालीन प्रदेश समन्वय समितिको अध्यक्ष  हुँदा भूकम्प पीडितका लागि रकम संकलन गर्न आह्वान भएको थियो । आह्वान भएअनुसार उठेको रकममध्येबाट उक्त विद्यालयलाई बुधबार रकम हस्तान्तरण गरिएको शर्माको भनाइ छ ।

गत वर्षको कार्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट  निकै ठुलो क्षति ब्यहोर्नु परेको थियो । उक्त क्षतिलाई मध्यनजर गर्दै समितिले विश्वभरका पार्टी शुभेच्छुकबीचमा सहयोगको आह्वान गरेर रकम संकलन गरेको थियो  ।

तत्कालीन प्रवास समन्वय समितिका  सचिव टिबी पाठकले बुधबार सहयोग भएको रकम विद्यालयले अक्षयकोषमा राख्ने भएको जानकारी दिए । पाठकले आगामी दिनमा रुकुममा पनि यस्तै खालको सहयोग गर्ने समेत बताए ।