जाजरकोटको चौखामा विद्युत् सबस्टेशन निर्माण

सफल खबर संवाददाता

बुधबार, ३० साउन २०८१, ११ : ४५
जाजरकोटको चौखामा विद्युत् सबस्टेशन निर्माण

काँक्रेविहार(सुर्खेत) । नेपाल विद्युत् प्राधिकरणको रु १० करोड लागतमा जाजरकोटको नलगाड नगरपालिका–१२ चौखामा ३३/११ केभी विद्युत् प्रसारण लाइन सबस्टेशन निर्माण भएको छ । 

प्राधिकरणसँग वाइबा इन्फ्राटेक प्रालिले उक्त सबस्टेशन निर्माण गर्न सम्झौता गरेको थियो । एक महिनाभित्र सबस्टेशन चार्जिङ गर्ने लक्ष्य रहेको वाइबा इन्फ्राटेकका वरिष्ठ सर्वेक्षक करुण शाहीले जानकारी दिए । जाजरकोटको कुदुबाट आएको प्रसारण लाइन चौखासम्म निर्माण नभएका कारण रुकुमपश्चिमको बाफिकोट सबस्टेशनबाट आएको विद्युत्बाट चार्जिङ गर्ने लक्ष्य छ । जाजरकोट खण्डमा प्रसारण लाइनको काम लामो समयदेखि हुन नसक्दा सबस्टेशनसम्म विद्युत् ल्याउन रुकुमपश्चिमको बाफिकोटस्थित सबस्टेशनको विद्युत् प्रयोग गर्नुपर्ने बाध्यता छ ।

सबस्टेशन निर्माणसँगै जाजरकोट खण्डमा प्रसारण लाइन निर्माण गर्न दबाब बढेको छ । ताक्सुगाड जलविद्युत् आयोजनाको विद्युत् उत्पादन गृहको छेउमा यो सबस्टेशन निर्माण भएको हो । यही सबस्टेशनबाट जगदुल्ला जलविद्युत् एक सय छ मेगावाट आयोजना निर्माणस्थल र डोल्पाको त्रिपुराकोटमा निर्माण हुन लागेको सबस्टेशनमा विद्युत् जडान गरिनेछ । तल्लो डोल्पाका साथै पूर्वी जाजरकोटको अधिकांश स्थानमा विद्युतीकरण गर्न यो सबस्टेशनले काम गर्ने प्राधिकरणको प्रदेश कार्यालयले जनाएको छ ।

भेरी करिडोरको जाजरकोट–डोल्पा सडकखण्डमा पुल निर्माण नहुँदा विद्युत्का ठूला आयोजना निर्माणमा समस्या भएको छ । नलगाड नगरपालिकामा मात्र पाँच वटा ठूला पुल निर्माण गर्न बाँकी छ । सडक निर्माणको काम चलिरहेको भए पनि पुल निर्माणमा ढिलाइ हुँदा समस्या भएको हो । विद्युतीकरण गर्न सामान ल्याउनुपर्ने भए पनि खोला तथा नदीमा पुल नहुँदा काममा बाधा पुगेको हो । वर्षायाममा स्थानीयवासीले समस्या भोग्नुपरेको छ । यती विल्डर्स प्रालिले गरिरहेको सडकको कामले गति लिए पनि अन्य कम्पनीले लिएको पुलको काम अलपत्र परेको छ ।

कर्णाली प्रदेश कार्यालयबाट भएको ठेक्काको काम पूरा भए पनि सङ्घीय कार्यालयबाट ठेक्का लागेका कामले गति लिन सकेको छैन । चौखाको सबस्टेशन प्रदेशबाट ठेक्का गरिएको थियो । समाइला र वडावनमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयबाट गरिएको ठेक्काको भौतिक प्रगति पाँच प्रतिशत पनि भएको छैन । उक्त ठेक्काको काम २४ महिनाभित्र निर्माण गर्ने लक्ष्य रहेकामा एक वर्ष बित्दा पनि प्रगति निराशाजनक छ ।

प्रसारण लाइन र सबस्टेशनको निर्माण गर्ने जिम्मेवारी लिएको निर्माण कम्पनीले अहिलेसम्म सबस्टेशन निर्माणस्थलमा ढुङ्गा, माटो हटाउनेबाहेक काम नगरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । कुदुबाट चौखासम्म प्रसारण लाइन निर्माण गर्ने जिम्मेवारी लिएको ला निर्माण सेवाले काम नगर्दा चौखा सबस्टेशनमा विद्युत् जडानको काम हुन सकेको छैन । छ वर्षभन्दा बढी समय बित्दा पनि काम नगर्दा समस्या समाधान हुन नसकेको हो ।