चितवन खाद्यान्नमा आत्मनिर्भर

रासस

बुधबार, ०९ असोज २०८१, १४ : ०३
चितवन खाद्यान्नमा आत्मनिर्भर

चितवन । जिल्लामा स्थायी बसोबास गर्ने जनसङ्ख्यालाई आवश्यक पर्ने खाद्यान्नमा चितवन आत्मनिर्भर रहेको छ । धान, मकै, गहुँ, कोदो, फापरलगायत खाद्यान्न बालीमा जिल्ला आत्मनिर्भर भएको हो ।

कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेलका अनुसार यहाँ ३७ हजार ११८ हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको छ । यस्तै, १७ हजार ११० हेक्टर क्षेत्रफलमा मकै, चार हजार ९४१ हेक्टर क्षेत्रफलमा गहुँ, एक हजार ५० हेक्टर क्षेत्रफलमा कोदो र फापर लगाउने गरिएको उनले बताए।

उनका अनुसार सबै उत्पादन दुई लाख ५२ हजार ८४५ मेट्रिक टन खाद्यान्न जिल्लामा उत्पादन हुँदै आएको छ । त्यसमा धान एक लाख ६७ हजार ३३ मेट्रिक टन, मकै ६८ हजार ५९१ मेट्रिक टन, गहुँ १६ हजार १३ मेट्रिक टन, कोदो र फापर एक हजार २०८ मेट्रिक टन उत्पादन हुने गरेको कँडेलले जानकारी दिए ।

आर्थिक वर्ष २०८१र८२ को कार्यक्रम सार्वजनिक तथा आर्थिक वर्ष २०८०र८१ को प्रगति समीक्षा कार्यक्रममा कँडेलले सो तथ्याङ्क सार्वजनिक गरेका हुन । राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार जिल्लामा सात लाख १९ हजार ८५९ जना स्थायी रुपमा बसोबास गर्ने रहेका छन् । त्यसले एक लाख ४० हजार १९ मेट्रिक टन खाद्यान्न खपत गर्ने गरेको सो अवसरमा जानकारी गराइयो ।

त्यसमध्ये धान ९८ हजार २७४ मेट्रिक टन, मकै २६ हजार ७७७ मेट्रिक टन, गहुँ १३ हजार ८८८ मेट्रिक टन, कोदो र फापर एक हजार ८० मेट्रिक टन उपभोग भएको कँडेलले बताए । उनका अनुसार दुई हजार ५२६ दशमलव ३० मेट्रिक टन प्रशोधित खाद्यान्न बचत हुने गरेको छ । जिल्लामा स्थायी बसोबास गर्ने जनतालाई आफ्नो उत्पादनले खान पुग्ने जनाउँदै उहाँले अस्थायी रुपमा बसोबास गर्नेहरुको हकमा बाहिरबाट ल्याउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस