प्रदीप ज्ञवालीको आरोप : १० वर्षे द्वन्द्वका कारण देशको मूल्यवान् समय खेर गयो

सफल खबर संवाददाता

मंगलबार, ०८ असोज २०८१, १८ : ५२
प्रदीप ज्ञवालीको आरोप : १० वर्षे द्वन्द्वका कारण देशको मूल्यवान् समय खेर गयो

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले १० वर्ष अकारण मुलुक द्वन्द्वमा धकेलिएको बताएका छन् । 

मंगलबार राष्ट्रिय युवा संघ नेपाल साइवर सर्कल विभागद्वारा आयोजित ‘डिजिटल मिडिया साक्षरता र कार्यशाला’ कार्यक्रममा उनले १० वर्षको द्वन्द्वका कारण देशको मूल्यवान् समय खेर गएको भन्दै विकास गर्ने पैसा गोला बारुदमा खर्च गरेपछि सबै कुराहरू पछि धकेलिएको बताएका हुन् । 

उनले भने, ‘१० वर्ष अकारण मुलुक द्वन्द्वमा धकेलियो । कारण केही पनि थिएन । बहुदल आएको पाँच वर्षभित्र त्यसको विरुद्धमा हतियार उठाउनुपर्ने कुनै जरुरत नै थिएन । इतिहासमा एउटा ठुलो प्रश्न छ त्यो १० वर्ष देशको मूल्यवान् समय खेर नै गयो । विकास, समृद्धि सबै कुरा गए, विकास गर्ने पैसा गोला बारुदमा खर्च गरेपछि सबै कुराहरू पछि धकेलियो । अर्को १० वर्ष त्यो परिपूर्ति गर्न लाग्यो । एउटा राजनीतिक मुद्दा त्यसले सिर्जना गरेका अवस्थाहरू र त्यसको व्यवस्थापनका लागि २० वर्ष खर्च गर्नपर्‍यो ।

यसको साथै उनले प्रायोजित तरिकाले गणतन्त्र मन नपराउनेहरुले देश बन्दैन, भन्ने भाष्य निर्माण गरेको भन्दै त्यसलाई चिरेर देशलाई अगाडि बढाउनुपर्ने बताए ।