जलवायु परिवर्तनको असरबाट सांस्कृतिक सम्पदाहरूलाई जोगाऔँ : मन्त्री पाण्डे

सफल खबर संवाददाता

आइतबार, ०६ असोज २०८१, १२ : ३१
जलवायु परिवर्तनको असरबाट सांस्कृतिक सम्पदाहरूलाई जोगाऔँ : मन्त्री पाण्डे

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जलवायु परिवर्तनका कारण बाढी डढेलो, खडेरी तथा समुन्द्र सतह वृद्धि जस्ता प्राकृतिक प्रकोप बढिरहेका बेला सांस्कृतिक सम्पदाहरूको संरक्षणमा ध्यान दिनुपर्ने बताएका छन् । 

त्रिभुवन विश्वविद्यालयको संस्कृति विभाग, युनेस्को, एसिया प्रशान्त क्षेत्रको उच्च शिक्षा सञ्जाल लगायतका संस्थाले आइतबार राजधानीमा संयुक्त रूपमा आयोजना गरेको प्रकोप र जलवायु परिवर्तनको सन्दर्भमा समुदायको सहनशीलता निर्माणमा अमूर्त सांस्कृतिक सम्पदाको भूमिका विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा उक्त कुरा बताएका हुन् । 

उनले परम्परागत ज्ञानलाई आधुनिक विज्ञानसँग एकीकृत गरेर पूर्व तयारी, न्यूनीकरण, र अनुकूलनका रणनीतिहरू विकास गर्न सकिने उल्लेख गर्दै बाढीको अवस्थाबारे आदिवासी ज्ञानलाई भू उपग्रह प्रविधिसँग जोडेर सटिक रूपमा पूर्व सूचना  प्रदान गर्न सकिने बताए । सम्बोधनका क्रममा मन्त्री पाण्डेले अहिलेको विश्व गम्भीर रूपान्तरणको अवस्थामा रहेको र जलवायु परिवर्तन अब कुनै टाढाको खतरा नभई वर्तमान अवस्थाको वास्तविकता भएको उल्लेख गर्दै यसबाट समाजले बारम्बार बाढी, डढेलो, खडेरी र समुन्द्र सतह वृद्धि जस्ता प्रकोप झेल्नु परिरहेको र संवेदनशील क्षेत्रका समुदायहरू जोखिमको अग्रभागमा रहेको बताए । 

एक पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण हुने परम्परा, भाषा, अनुष्ठान, ज्ञान प्रणाली, र कला अमूर्त सांस्कृतिक सम्पदाहरू भएको र यिनीहरू हाम्रो पहिचानको आधार भएको उल्लेख गर्दै मन्त्री पाण्डेले भने, संसारलाई कसरी हेरिरहेका छौ, प्रकृतिसँग कसरी अन्तरक्रिया गरिरेका छौ । र सङ्कटमा कसरी प्रतिक्रिया दिन्छौँ भन्ने कुरा निर्धारण गर्ने छ । प्रकोप र जलवायु परिवर्तनको सन्दर्भमा सम्पदा हाम्रा लागि अझ बढी मूल्यवान् छन् ।’

उनले संसारभरका मानिसले आफ्नो वातावरणमा अनुकूलन गर्नका लागि शताब्दीयौंदेखि जटिल ज्ञान र अभ्यासका प्रणालीहरू विकास गरेको उल्लेख गर्दै कृषि कर्मका बेला गरिने पूजापाठ वा अनुष्ठान तथा प्रकृतिको चक्रसँग तालमेल गरी बाली लगाउने परम्परा यसको उदाहरण रहेको बताए । 

त्यस्तै, उनले सांस्कृतिक सम्पदाहरूमा यस्ता प्रकोपहरूसँग कसरी अनुकूलन गर्न सकिन्छ भन्ने ज्ञानको भण्डार रहेको र यस्ता ज्ञानले सङ्कटका समयमा जीवित रहन महत्त्वपूर्ण भूमिका खेल्न उल्लेख गरे । 

आदिवासी परम्परामा निहित ज्ञानले वातावरणसँग बढी दिगो र समर्पित सम्बन्ध विस्तारतर्फ अग्रसर गराउन सक्ने उल्लेख गर्दै मन्त्री पाण्डेले ति अभ्यासहरू बढ्दो आधुनिकता, सहरीकरण, र जलवायु परिवर्तनका कारण मानिसहरू विस्थापित हुने समस्यासँगै ज्ञानहरू लोप हुने हराउने खतरा रहेको हुँदा यी ज्ञानलाई बचाउन र प्रवर्द्धन गर्नु कर्तव्य भएको उल्लेख गरे । 

 

प्रतिक्रिया दिनुहोस