‘छक्का पञ्जा ३’ को पहिलो दिनको कमाई १ करोड २० लाख

विहीबार, २५ असोज २०७५, १५ : ३५
‘छक्का पञ्जा ३’ को पहिलो दिनको कमाई १ करोड २० लाख

नेपाली सिनेमा ‘छक्का पन्जा ३’ ले प्रदर्शनको पहिलो दिन मै आक्रामक सुरुवात गरेको छ।

दशैंलाई लक्षित गरी घटस्थापनाको दिनबाट प्रदर्शनमा आएको सिनेमा छक्का पञ्जा ३ ले मल्टिप्लेक्स सँगै सिंगल थियटहरुमा पनि उत्साहजनक व्यापार गरेको निर्माण पक्षले जनाएको छ।

यो फिल्मले पहिलो दिन १ करोड २० लाखको हाराहारीमा ग्रस कारोबार गरेको निर्माण पक्षको दावी छ। यस अघि सिनेमा छक्का पञ्जा २ ले पहिलो दिन १ करोड ५० लाखको हाराहारीमा ग्रस कलेक्सन गरेको थियो। सिनेमाले यस पटक सार्वजनिक विदा नपरेकोले अधिल्लो सिनेमाको तुलनामा कम कमाइ गरेको निर्माण टिमको दावी छ।

देशभर १ सय २५ बढी हलका करिब दुई सय पर्दा पाएको सिनेमा ‘छक्का पञ्जा ३’ हेर्न दर्शकहरुको चाप निकै देखिएको छ। प्रदर्शनको बिहानी शो नै हाउसफुल भएको सिनेमा छक्का पञ्जा ३ ले केही हलहरुमा शो समेत थप गरेको छ।

यसपटक पनि दर्शकले आफ्नो सिनेमालाई रुचाइदिएको भन्दै निर्देशक दिपाश्री निरौलाले खुशी व्यक्त गरिन्। ‘यस पटक हामीले केही फरक विषय बस्तु उठाएका छाँै। प्रायः चलचित्रमा ८० प्रतिशत हास्यव्यंग्य हुन्थ्यो भने यस पटक ८० प्रतिशत चलचित्रको विषयवस्तुमा केन्द्रित भएका छौँ। जसलाई दर्शकले स्वीकार गरिदिनु भएको छ’, उनले भनिन्। 
सिनेमामा दीपकराज गिरी, दीपिका प्रसाईं, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, संजोग कोइराला, शिवहरी पौडेल, नीर शाह, लक्ष्मी गिरीलगायतका कलाकारको अभिनय रहेको छ भने प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का विशेष भुमिकामा देखिएका छन्।

दीपाश्री निरौलाको निर्देशन रहेको सिनेमा छक्का पन्जा ३ लाई हास्यव्यंग्य कलाकारहरुको समुहले निर्माण गरेको हो। जीतु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेको चलचित्रलाई सुमन गिरी ‘भान्जा’, किरण केसी, शिवहरी पौडेल, पुरुषोत्तम प्रधान, ताराचन्द्र बजगाई, दीपेन्द्र खनिया र केशव न्यौपानेले निर्माण गरेका हुन।

चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन, दीपक शर्मा र अर्जुन पोखरेलको संगीत तथा कविराज गहतराजको कोरियोग्राफी रहेको छ।

प्रतिक्रिया दिनुहोस