भक्तपुरमा यस्तो बन्दै छ विस्तारित वीर अस्पताल, ३० अर्बभन्दा बढी लागत लाग्ने अनुमान

सफल खबर संवाददाता

बुधबार, २४ असोज २०७५, १३ : ३०
भक्तपुरमा यस्तो बन्दै छ विस्तारित वीर अस्पताल, ३० अर्बभन्दा बढी लागत लाग्ने अनुमान

काठमाडौं । वीर अस्पताललाई विस्तार गर्दै आधुनिक र अन्तराष्ट्रियस्तरको बनाउने प्रक्रिया अगाडि बढेको छ । यसअघिका सरकारले अस्पताल विस्तारका लागि भक्तपुरको दुवाकोटमा ५ सय ७० रोपनी जग्गा उपलब्ध गराइसकेको छ । त्यही जग्गामा वर्तमान सरकारले नेपालकै जेठो वीर अस्पताललाई विस्तार गर्न लागेको हो । 

चालु आर्थिक वर्षमा उक्त जग्गामा विस्तारित वीर अस्पताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्नका लागि ३० करोड रुपैयाँ विनियोजन गरेको छ । वीर अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत सञ्चालनमा छ । 

अस्पतालका निर्देशक डा भुपेन्द्र बस्नेतका अनुसार विस्तारित वीर अस्पताल निर्माणको गुरुयोजना न्याम्सको सिनेटले पास गरिसकेको जानकारी दिए। गुरुयोजनामा उक्त क्षेत्रमा एक हजारदेखि १५ सय शय्याको अस्पताल, नर्सिङ, मार्फेसी लगायतका स्वास्थ्यसँग सम्बन्धित कलेज, आवास गृह लगायतका पूर्वाधारहरु बन्ने छ । अस्पतालमा हेलिप्याडको सुविधा सहितको भवन हुने छ ।

‘विस्तारित वीर अस्पतालमा अस्पताल र शैक्षिक कार्यक्रमका लागि आवश्यक पर्ने सबै पूर्वाधार तयार हुनेछ,’ निर्देशक डा बस्नेतले भने, ‘५ सय ७० रोपनी जग्गा भनेको झण्डै एउटा सानो सहर नै बन्न सक्ने क्षेत्रफल भएका कारण त्यहाँ अरु थुप्रै संरचनाहरु पनि बन्ने छ ।’

उनका अनुसार गुरुयोजना बनाउने क्रममा ३० अर्बको लागतमा विस्तारित वीर अस्पताल बन्ने अनुमान गरिएको छ । तर, निर्माण र अनुमानित लागतको कुरा डिपिआरपछि मात्र भन्न सकिने अवस्था रहेका कारण यो वर्ष डिपिआरको काम अगाडि बढ्ने उनले जानकारी दिए ।

‘यो वर्ष डिपार रिपोर्ट तयार पारेपछि ग्लोबल टेण्डरमा जाने प्रक्रिया सुरु हुनेछ,’ उनले भने, ‘ग्लोबल टेण्डरमा गएपछि ३ देखि ५ वर्षभित्रमा विस्तारित वीर निर्माणको काम सम्पन्न हुने विश्वास छ ।’

०७३ साउन ७ गतेको मन्त्रीपरिषद् बैठकले वीर अस्पतालको विस्तारका लागि दुवाकोटमा रहेको ५ सय ७० रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो। त्यसपछि उक्त स्थानमा वीर अस्पतालको विस्तारका लागि आवश्यक काम अगाडि बढेको हो । 

यो सँगै हाल वीर अस्पताल रहेको स्थानमा पनि अस्पतालको क्षमता विस्तार भने हुने छ। हाल वीर रहेको स्थानमा पनि एक हजार ५ सय शय्या क्षमताको आधुनिक केन्द्रिय वीर अस्पताल रहने छ । 

सरकारले भक्तपुरको विस्तारित अस्पतालमा सर्वसाधारणको आउजाउलाई सहज बनाउन मनोहरा खोलामा चार लेनको करिडोरसमेत निर्माण गर्ने तयारी गरेको छ । दुवाकोटको अस्पतालमा कोटेश्वरबाट जडीबुटीहुँदै आउजाउ गर्न मनोहरा करिडोर निर्माणको काम अगाडि बढाइएको हो । करिडोर निर्माणको काम भने सडक विभाग अन्तर्गतका निकायले गर्नेछन् । जडिबुटीबाट दुवाकोटसम्मको करिडोर जम्मा ५ किलोमिटर रहेको छ ।

प्रतिक्रिया दिनुहोस