ऐन पारित भएपछि विकासले गति लिन्छ : मुख्यमन्त्री राउत

बुधबार, २४ असोज २०७५, ०९ : २७
ऐन पारित भएपछि विकासले गति लिन्छ : मुख्यमन्त्री राउत

लहान । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले संसद्मा टेबुल गरेको ऐनहरू पारित भएपछि प्रदेशमा विकास र निर्माणले गति लिने बताउनुभएको छ । 

सिरहाको कल्याणपुर नगरपालिकास्थित चिकना बजारमा मङ्गलबार आयोजित पार्टी प्रवेश एवं शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेश सरकारले संसद्मा करार ऐन, प्रहरी ऐनलगायतका ऐन ल्याएको बताउनुभयो । 

सङ्घीय सरकारले आवश्यक कर्मचारी नपठाउँदा विकास निर्माणको काम प्रभावकारी हुननसकेको बताउनुहुँदै उहाँले सङ्घीय सरकारले प्रहरी प्रशासन प्रदेश सरकारलाई हस्तान्तरण नगरे प्रदेशले आफ्नै प्रहरी प्रशासन स्थापना गर्ने बताउनुभयो । 

प्रहरी ऐनमाथि सदनमा छलफल शुरु भइसकेकाले यसै साता पारित हुने उल्लेख गर्नुहुँदै मुख्यमन्त्री राउतले ऐन पारित भएलगत्तै प्रदेश प्रहरी गठनको औपचारिक प्रक्रिया शुरु हुने उहाँले उल्लेख गर्नुभयो । 

कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव, पार्टीका उपमहासचिव प्रकाश अधिकारी, केन्द्रीय सदस्य एवं पूर्वसभासद डा वीरेन्द्र महतो, केन्द्रीय सदस्य अशेश्वर यादवसहितको सहभागिता रहेको थियो । 
सो कार्यक्रममा नेकपा, काङ्ग्रेस र राजपालगायतका विभिन्न पार्टीबाट सङ्घीय समाजवादी फोरम नेपालमा प्रवेश गरेकालाई मुख्यमन्त्री राउतले फूलमाला लगाई पार्टीमा स्वागत गर्नुभयो । 

नगरप्रमुख सवार गाडीमा ढुङ्गामुढा 

सिरहाको कर्जन्हा नगरपालिकाका प्रमुख गङ्गा पासवान सवार गाडीमा अज्ञात समूहले हिजो साँझ ढुङ्गामुढा गरी तोडफोड गरेका छन् । नगरपालिकाको परिषद्को बैठक सकिएपछि नगरप्रमुख पासवान बाहिर जान लाग्दा उहाँ सवार ना१झ १६३९ नं को स्कारपियोमा एक समूहले ढुङ्गामुढा गरी सिसा फुटाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । 

ज्यान मार्ने उद्देश्यले योजनावद्ध रूपमा आफूमाथि आक्रमण गर्न खोजिएको नगरप्रमुख पासवानको भनाइ छ । 
नगरप्रमुख पासवानको गाडीमा ढुङ्गामुढा गर्ने समूहको खोजी भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहले बताउनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस