यस्तो छ परामर्श समिति बैठकमा सुदन किरातीले पेश गरेको ६ बुँदे फरक प्रस्ताव (पूर्णपाठ)

सफल खबर संवाददाता

आइतबार, २३ भदौ २०८१, १६ : ०३
यस्तो छ परामर्श समिति बैठकमा सुदन किरातीले पेश गरेको ६ बुँदे फरक प्रस्ताव (पूर्णपाठ)

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को कोशी प्रदेश परामर्श समिति बैठकमा नेता सुदन किरातीले संगठन निर्माणका लागि फरक मत राखेका छन् । नेता किरातीले ‘नेपाली मौलिकतामा समाजवादी विचारको निर्माण र संगठन परिचालन’ शीर्षकमा आफ्नो विचार राखेका हुन् । 

सारमा आफ्नो विचार राख्दै लिखित रूपमा आफ्नो फरक मत अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएका थिए । पूर्वमन्त्री समेत रहेका किरातीले समाजवाद बरमझियाको असली बुढो बाजेको पेडा जस्तै भएको भन्दै अध्यक्ष ‘प्रचण्डलाई “देश महायात्रा” सञ्चालन गरेर विचारको विकासका लागि नेतृत्व गर्न सुझाव समेत पेस गरेका थिए । 

उदयपुरको बेलाका नगरपालिका बेलाका स्थित बेलाका रिभर्स बिच रिसोर्टमा आइतबारदेखि सुरु भएको बैठकमा पार्टीका केन्द्रीय पदाधिकारी, प्रदेशभरिका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहेको छ । 

पूर्णपाठ :

अध्यक्ष कमरेड ! 
अहिलेको मूल आवश्यकता रणनीति र कार्यनीतिलाई मूर्त बनाउँदै नेपाली मौलिकतामा समाजवादी विचारको विकास गर्नु हो । आज हाम्रो समाजवाद बर्मझियाको असली बुढो बाजेको पेडा जस्तै भएको छ । सबै दलले समाजवाद भन्छन् तर कसको समाजवाद कस्तो हो, स्पष्ट छैन । त्यसैले अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा “देश महायात्रा” सञ्चालन गरेर विचारको विकास गरौँ । त्यसले पार्टीभित्रको संगठनात्मक सङ्कट समाधान हुन्छ, नेतृत्व निर्माणको सवाल सम्बोधन हुन्छ र जनतामा पार्टीप्रति नयाँ किसिमबाट भरोसा निर्माण हुन्छ । त्यो काम सामूहिकतामा हुनुपर्छ, जनतामा आधारित हुनुपर्छ । त्यो अभियानलाई सफल बनाउन निम्न मौलिक विधि अपनाउन सकिन्छ :

 १. विचार निर्माणका लागि पहिलो काम :

 क) सिङ्गै सङ्गठन परिचालन गर्दै आजको नेपाली सामाजिक जनजीवनलाई बुझ्न अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा देश महायात्रा गरौँ ।

 ख) नेपाली ऋतुलाई आधार मानेर हिमाल, पहाड र मधेसको संस्कृतिलाई मिहिन ढङ्गले बुझौँ ।

 ग) प्रकृतिलाई बुझ्ने र व्यवहार गर्ने नेपाली जनता र सिङ्गो समाजको जीवनशैली, संस्कृति र चिन्तनलाई नजिकबाट बुझौँ ।

 (घ) प्रगतिशील सामाजिक मूल्यमान्यताका आधारमा “प्रकृति र संस्कृति मैत्री नेपाली समाजवाद” को विकास गरौँ ।

 २. विचार निर्माणका लागि दोस्रो काम :

 (क) आम पार्टी पङ्क्तिलाई जनविश्वविद्यालमा अध्ययन गर्न गराउन पठाऔँ ।

 (ख) जनताका संस्कृति, इतिहास, दर्शन, अनुभव, परम्परागत संस्थाहरू बारे गहिरो अध्ययन गरेर प्रगतिशील पक्षहरूलाई आधार मानी नेपाली समाजवादको जग बसाऔँ । 

(ग) समाजवाद “ल्याउने” (आयात) गर्ने होइन, समाजवादमा “पुग्ने”हो भने नेपाली विशेषताको समाजवादको “विकास” गरौँ । 

३. विचार निर्माणका लागि तेस्रो काम :

 (क) विश्व साम्राज्यवादका बहुमुखी सामर्थ्य र कमजोरीलाई गहिरोसँग अध्ययन गरौँ र नेपाली समाजवाद त्यसभन्दा कुन अर्थमा उन्नत हुनेछ भनेर स्पष्ट पारौँ । 

४. अन्तिम काम : विचारको संश्लेषण गरौँ ।

 (क) जनताबाट आएका ज्ञानहरू र विश्व साम्राज्यवाद सम्बन्धी अध्ययनका आधारमा नेपाली समाजवादी विचारको संश्लेषण गरौँ । ख) समाजवाद सम्बन्धी जनताले बुझ्ने भाषामा “अहिले यति गर्न सक्छौँ अथवा चाहन्छौँ” र “पछि यति गर्नेछौँ” भनेर हाम्रो पार्टीको नीति तथा कार्यक्रम प्रस्ट पारौँ ।

 ५. स्थानीय तह: समाजवाद निर्माणको जग:
हाम्रो पार्टीको नेतृत्वमा रहेको स्थानीय तहको सरकारलाई प्रयोग गरेर समाजवादको नमुना प्रस्तुत गरौँ । स्थानीय सरकार जनताको प्रत्यक्ष निगरानीमा रहने भएकोले जनताकै अपनत्व र स्वामित्व पनि हुने गर्छ त्यसैले यो स्वतः प्रभावकारी हुन्छ साथै त्यहीँबाट नेपाली समाजमैत्री समाजवादको विकास गर्न सकिन्छ र जनतालाई पार्टीप्रति गोलबन्द गर्न सम्भव हुन्छ । 

६. सङ्गठन परिचालन : समाजभन्दा पर रहेर मानिसलाई कुनै पनि मूल्य मान्यतामा डोर्‍याउन सकिँदैन ।

 नेपाली समाजले कतिपय मान्यताहरू भू–बनोट, वातावरण र ऋतुकालीन श्रमसँग निर्माण गरेको पाइन्छ । त्यसैले नेपाली चार ऋतुको आधारमा वार्षिक क्यालेन्डर सहित बाह्रै महिना संगठनलाई परिचालन गरौँ 

क ) वसन्त अभियान (चैत्रवैशाखजेष्ठ) भरि सृजनाको काम गर्ने ।

ख) वर्षा अभियान (असार-साउन-भदौ) विचार निर्माण सँगै श्रम गर्ने; बाढी, पहिरो, राहत, उद्धार, पुर्स्थापनाबारे जनसचेतनाका काम गर्ने ।

ग) शरद अभियान (असोज-कार्तिक-मङ्सिर) आन्तरिक तयारीसँगै चाडबाडसँग सम्बन्धित सामाजिक क्रियाकलाप र शुभकामना आदानप्रदान गर्ने ।

घ) शिशिर अभियान (पुस-माघ-फागुन) वार्षिक पार्टी कामको आन्तरिक तयारी, हिमपात, शीतलहरबाट बच्ने सचेतना जगाउने र न्यानो कपडा बाँड्ने सामाजिक सेवा जस्ता काम गर्ने ।

ङ) पार्टी कार्यकर्ता र नेताहरू संगठक मात्र नभएर निरन्तर विचार निर्माणको लागि अनुसन्धानकर्ताका रूपमा पनि विकास गराउनुपर्छ ।

च) पार्टीको आमनीति सापेक्षिक कार्यक्रम अन्तर्गत वडा स्तरसम्मको कमिटीलाई नीतिको आधारमा कार्यक्रम बनाउन स्वतन्त्रता प्रदान गर्ने । यसरी पार्टी कामलाई व्यवस्थित गर्दा एकातिर वर्ष दिनको कार्यक्रम अगाडि नै निर्धारित हुन्छ र “माथि” बाट के आउँछ भनेर तल्लो कमिटीले बाटो हेरिरहनु पर्दैन । अर्कोतिर, कार्यक्रम बनाउने अधिकार दिँदा रचनात्मक प्रतिस्पर्धा हुन्छ र नयाँ नयाँ सिर्जनाको जन्म हुन्छ । स्वयम् कमिटी र कमिटीका नेता हर समय नयाँ नयाँ विषय सोच्नु बाध्य हुन्छ । परिणामको आधारमा दण्ड र पुरस्कारको व्यवस्था गर्नुपर्छ ।

छ) सार्वजनिक संस्था र स्थलहरूको सुधार गर्ने जिम्मेवारी लिएर फिल्डमा जाऔँ । स्थानीय पार्टी परिचालन गरेर (विद्यालय, स्वास्थ्य चौकी र हाटबजार आदी)मा जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी व्यापक सुधार ल्याऔँ । हाम्रा काम देखेर मानिसहरू आफै पार्टीप्रति आकर्षित होउन् । अब सदस्यता जबरजस्ती दिने होइन, आफै सदस्यता लिन आउने खालको पार्टी बनाऔँ । 

 

प्रतिक्रिया दिनुहोस