बाबर आजमलाई कप्तानबाट हटाउने तयारी

सफल खबर संवाददाता

आइतबार, २३ भदौ २०८१, १२ : २८
बाबर आजमलाई कप्तानबाट हटाउने तयारी

काठमाडौँ । पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानको प्रदर्शन निकै निराशाजनक देखिन्छ । तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानको प्रदर्शन बिर्सनलायक देखिएको छ । त्यसैले पाकिस्तानी समर्थक पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)सँग पनि आक्रोसित बनेका छन् ।

पाकिस्तानका पूर्वक्रिकेटरहरुले पनि टोलीमा ब्यापक सुधारको खाँचो रहेको बताउँदै आएका छन् । यसै क्रममा पीसीबीले बाबर आजमलाई टी–२० टोलीको कप्तानबाट हटाउने तयारी गरेको छ । पीसीबीले बाबर आजमको स्थानमा विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानलाई कप्तान बनाउनले तयारी गरेको समाचारमा जनाइएको छ ।

पीसीबीले सेप्टेम्बर १२ देखि २९ सम्म च्याम्पियन्स एकदिवसीय कप प्रतियोगिता आयोजना गर्दैछ । यो प्रतियोगितामा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका खेलाडीसँगै नयाँ खेलाडीले पनि सहभागिता जनाउने भएका छन् ।

यो प्रतियोगितामा पाँचवटा टोलीले भाग लिनेछन् । पाँचवटै टोलीको कप्तानको नाम पनि सार्वजनिक गरिएको छ । तर, बाबर आजमलाई कुनै पनि टोलीको कप्तानको जिम्मेबारी दिइएको छैन । पाँचवटा टोलीका लागि मोहम्मद रिजवान, साहिन शाह अफ्रिदी, शादाब खान, साउद सकिल र मोहम्मद ह्यारिसलाई कप्तान बनाइएको छ ।

यसबाट पनि पीसीबीले बाबर आजमलाई कप्तानबाट हटाउन खोजेको संकेत मिलेको छ । निकेट भविष्यमा पाकिस्तानले घरेलु मैदानमा इङ्ल्यान्डसँग शृंखला खेल्ने कार्यक्रम छ । त्यसपछि पाकिस्तानी टोली अस्ट्रेलिया भ्रमणमा निस्कने छ ।

अस्ट्रेलिया भ्रमणका क्रममा पाकिस्तानले तीनवटा टी–२० अन्तर्राष्ट्रिय खेलको शृंखला खेल्नेछ । त्यो शृंखलाअघि नै पीसीबीले नयाँ कप्तान नियुक्त गरिसक्ने बताइएको छ । यो विषयलाई लिएर पाकिस्तानी टोलीका प्रशिक्षक गेरी क्रस्टर्नले दुई महिनाअघि नै पीसीसी र बाबर आजमसँग छलफल गरिसकेको पनि बताइएको छ ।

समाचारमा जनाइए अनुसार, पीसीबी मोहम्मद रिजवानलाई तीनवटै ढाँचाको कप्तान बनाउने योजनामा छ । भारतमा सन् २०२३ मा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपमा खराब प्रदर्शनपछि बाबर आजमले सबै ढाँचाको कप्तान पदबाट राजीनामा दिएका थिए ।

त्यसको केही महिनापछि सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा आयोजित टी–२० विश्वकपका लागि पीसीबीले पुनः उनलाई कप्तानको जिम्मेबारी सुम्पिएको थियो । तर, बाबर आजमको कप्तानीमा पाकिस्तानी टोली टी–२० विश्वकपको सुपर–८ चरणसम्म पुग्न पनि असफल भएको थियो । त्यसयता उनको ब्यापक आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस