मेरिल्यान्डमा नेपथ्यसँगै झुमे दर्शक

सफल खबर संवाददाता

मंगलबार, १८ भदौ २०८१, ०८ : २६
मेरिल्यान्डमा नेपथ्यसँगै झुमे दर्शक

काठमाडौ । आइतबार बेलुकी ‘दी हल एट लाइभ’को भुइँतला मात्र होइन, माथिल्ला कक्ष पनि दर्शकले भरिएका थिए । त्यो भीडमै रमाइरहेका माझ एक अमेरिकी थिइन्, फलेसिया डनल्याप ।

‘यस हलमा आजसम्मकै उत्कृष्टमध्येको शो अनुभव गरेँ,’ त्यस हलका मनोरञ्जन तथा प्रोडक्सन महाप्रबन्धक फलेसिया भनिरहेकी थिइन्, ‘प्रोडक्सन र पफर्मेन्सका हिसाबले चुस्त, गजबको प्रस्तुति !’

दर्शकमा उत्पन्न ऊर्जाकै आधारबाट पनि यसको विशिष्टता स्पष्टै झल्किएको उनको प्रतिक्रिया थियो । ‘म ड्युटीमै भए पनि दर्शकका रूपमा समेत रमाइरहेँ,’ कार्यक्रममा आफ्नो मोबाइलमा कैद गरेका भिडियोहरू देखाउँदै उनले भनिन् ।

निर्धारित समयअनुसारै बेलुकी ठीक ८ बजे कार्यक्रम सुरु भएसँगै नीलो जिन्स पहिरेका अमृत गुरुङ देखापरे र दर्शकतर्फ झुकेर अभिवादन गरे । ड्रमसेटको ‘छ्याङ्ङ’ आवाजसँगै दुवै हात दर्शकतर्फ झट्कारे । यतिन्जेल हलमा भरिएका दर्शकमाझ व्यापक उत्साह र हलचल सुरु भइसकेको थियो । त्यही उत्साहलाई समात्दै उनले पहिलो गीत सुनाए –

‘कोशीको पानी यो जिन्दगानी

सललल जाइजाने हौ हजुर

आमाको कोखमा बास मात्र लिएँ नि

कुन देशको मरन हौ हजुर’
त्यसपछि ब्यान्डका सार्वकालिक हिट गीतहरू ‘भेँडाको ऊन’ र ‘छेक्यो छेक्यो’ गाएपछि अमृतले दर्शकसँग छोटो भलाकुसारीको क्रम सुरु गरे ।

कार्यक्रममा नयाँ–पुराना गीतको लस्कर थियो । ती सबको बीचबीचमा अमृतले दर्शकसँग दोहोरो संवाद पनि जारी राखेका थिए ।

सबै स्थानमा जस्तै यहाँ पनि अमृतले भावी पुस्तालाई सकेसम्म मातृभाषा पनि सिकाउन र त्यो सकिएन भने कम्तीमा नेपाली भाषा सिकाएर भए पनि तिनलाई उनीहरूको जरोसँग जोडिदिन अनुरोध गरेका थिए । 

कन्सर्ट हेर्न आएका थुप्रै दर्शकले साथमा राष्ट्रिय झन्डा पनि बोकेरै ल्याएका थिए भने ढाकाटोपी अनि भादगाउँले टोपी लगाएर उपस्थित भएका पनि जताततै देखिन्थे ।

यसरी आएका दर्शक अनेक किसिमका समूहमा आबद्ध थिए । कोही साथीसँग मिलेर आएका थिए, कोही आफ्ना जोडीका साथमा उपस्थित थिए भने कोही आफ्ना अभिभावक र केटाकेटीसहित सपरिवार आएका पनि उत्तिकै भेटिन्थे ।

त्यस्तै समूहमध्ये एक थियो भर्जिनियामा केटाकेटीलाई नेपाली भाषा, संस्कृति र सम्पदा पढाउन ‘पाठशाला’ सञ्चालन गरिरहेका स्वयंसेवी शिक्षकको जमात । वन्दना, सम्झना, सजना, राज र राजेशलगायतको त्यो समूह सुरुदेखि रमाइरहेको देखिन्थ्यो ।

प्रतिक्रिया दिनुहोस