नेपथ्य अस्ट्रेलिया शृंखलाको भव्य सुरुवात क्यानबेराबाट

सफल खबर संवाददाता

बुधबार, २१ फागुन २०८१, १३ : १३
नेपथ्य अस्ट्रेलिया शृंखलाको भव्य सुरुवात क्यानबेराबाट

क्यानबेरा। पहाड र हरियालीले घेरिएको सुनसान राजधानी क्यानबेराको एउटा कुनामा सोमबार बेलुकी ठूलै चहलपहल थियो । साँझ पर्नैलाग्दा नेसनल कन्भेन्सन सेन्टरको ‘रोयल थिएटर’ वरपर नेपालीको जमात देखिन सुरु भयो । केही वर्ष अघिसम्म पनि यहाँ नेपालीको बसोबास नगण्य थियो । दुई वर्षअघि यसै सहरस्थित अस्ट्रेलियन नेसनल युनिभर्सिटीको हलमा पहिलोपटक आफूलाई प्रस्तुत गरेको नेपथ्य ब्यान्डले यसपाला त्योभन्दा ठूलो र व्यवस्थित स्थल रोजेको थियो ।

हलभित्र पस्ने दर्शकमा फाट्टफुट्ट अस्ट्रेलियन अनुहार पनि देखिन्थे । तिनैमध्येकी एक थिइन् लिन्डा ट्रिग । नेपालमा कूटनीतिज्ञका रूपमा लामो समयसम्म सेवा गरेकी लिन्डा साठीकै दशकदेखि यस मुलुकमा आयोजना हुने विश्व प्रसिद्ध ब्यान्डहरूको कन्सर्ट हेर्दै हुर्किएकी हुन्।

‘१७ वर्षअघि पहिलोपटक सिड्नीमा मैले नेपथ्यको कन्सर्ट हेरेकी थिएँ, त्यसयता अस्ट्रेलियामा आयोजित नेपथ्यका पाँचवटा कन्सर्ट हेरिसकेकी छु र यो छैटौं हो,’ साथमा अर्की अस्ट्रेलियन साथी लिएर आएकी लिन्डा भनिरहेकी थिइन्, ‘एक हिसाबले नेपथ्य स्वादको बानी परिसकेको छ ।’

ब्यान्डको भने यो सातौँ अस्ट्रेलिया यात्रा हो ।

प्रतिक्रिया दिनुहोस