कोशी प्रदेश सभा बैठक : सत्तापक्ष वा विपक्षमा बस्ने भन्ने विषयमा कांग्रेसमा किचलो

सफल खबर संवाददाता

शुक्रबार, १४ भदौ २०८१, १३ : २५
कोशी प्रदेश सभा बैठक : सत्तापक्ष वा विपक्षमा बस्ने भन्ने विषयमा कांग्रेसमा किचलो

विराटनगर। असार ८ गते बजेट पारित गरेपछि स्थगित भएको कोशी प्रदेशसभाको बैठक आज बस्दै छ । तर, बैठक बस्नुअगाडि सत्ता पक्ष वा विपक्षमा बस्ने भन्ने विषयमा नेपाली कांग्रेसमा विवाद भएको छ । 

सत्तापक्षमा बस्ने भनेर बिहीबार कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा कांग्रेसले पत्र दिएको थियो । तर, कांग्रेसको संस्थापन इतर समूहले भने विपक्षी मै बस्नु पर्ने अडान लिएपछि पार्टीमा विवाद भएको हो ।

एमालेसँग गठबन्धन बनाएको दुई महिना बढी भए पनि कांग्रेसले प्रदेशसभाबाट प्रतिपक्षी दलको हैसियतमा सेवा सुविधा लिइरहेको छ । तर, प्रतिपक्षको सुविधा लिएर सत्ता पक्षमा बस्न लागेको भन्दै कांग्रेसभित्र किचलो देखिएको छ ।

गठबन्धन बनेकै भरमा सत्तापक्षको कुर्सीमा बस्नु अनैतिक हुने कांग्रेसका सांसद एवं पूर्वमन्त्री शमशेर राईले बताए । ‘विश्वासको मत पनि नदिएकोले कुन आधारमा सत्ता पक्षमा बस्न लागेको हो भन्ने जवाफ दलको बैठकमा माग्छौं,’ उनले भने । सरकारमा सहभागी नभएसम्म कांग्रेस प्रतिपक्षको बेञ्चमै बस्नुपर्ने राईको भनाइ छ ।

यस्तै, नेकपा (माओवादी केन्द्र)ले भने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई दिएको समर्थन फिर्ता लिने भएको छ । कांग्रेस र नेकपा एमालेको गठबन्धन बनेपछि साउन ११ गते सरकारबाट बाहिरिएको माओवादी केन्द्रले अहिलेसम्म समर्थन फिर्ता लिएको थिएन । ‘आजै सरकारलाई दिएको समर्थन फिर्ता लिँदैछौं,’ माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने, ‘संसदीय दलको बैठक बसेर त्यसको औपचारिक निर्णय गर्दैछौं ।’

गत वैशाख २७ गते संविधानको धारा १६८ को उपधार ५ बमोजिम माओवादी केन्द्रका १३ तथा नेकपा एमालेका ३९ सांसदको समर्थनमा एमाले संसदीय दलका नेता कार्की मुख्यमन्त्री भएका थिए । जेठ १ गते उनले प्रदेशसभाबाट विश्वासको मत लिएका थिए । उनलाई कांग्रेस र राप्रपाबाहेकका दलले विश्वासको मत दिएका थिए ।

असार १७ गते नेपाली कांग्रेस र एमालेबीच सत्तासमीकरण बनेपछि माओवादी सरकारबाट बाहिरिए पनि आन्तरिक किचलोका कारण कांग्रेस अझै सरकारमा सहभागी भएको छैन ।

प्रतिक्रिया दिनुहोस