बन्ला त चितवन प्रदेश नम्बर तीनको राजधानी ?

सफल खबर संवाददाता

सोमबार, २२ असोज २०७५, १९ : १६
बन्ला त चितवन प्रदेश नम्बर तीनको राजधानी ?

हेटौंडा । प्रदेश ३ को राजधानीबारेको प्रस्ताव सोमबार बसेको प्रदेशसभा बैठकमा पेश भएको छ । 
उपयुक्तताको आधारमा प्रदेश राजधानी सिफारिस गर्न गठित राजधानी सम्भाव्यता अध्ययन विशेष समितिका सभापति दीपक निरौलाले सभामा प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । उहाँले प्रतिवेदनमा राजधानीका लागि उपयुक्त भनी सिफारिस गरिएको जिल्लाको जिल्लागत विवेचना र विश्लेषण राखिएको बताउनु भयो ।

राजधानीको विषय देशको विकास र जनताको सेवालाई हेरेर निर्णय गर्नुपर्ने उहाँको भनाइ छ । समितिले प्रदेश सभालाई काभ्रे, चितवन, भक्तपुर, नुवाकोट र मकवानपुर गरी ५ जिल्ला राजधानी तोक्न उपयुक्त भएको भन्दै सिफारिस गरेको छ । समितिको प्रतिवेदन संसदमा पेश भएपछि प्रदेश सभामा राजधनीको विषयले प्रवेश पाएको हो ।

गत जेठ २६ गते समितिले सभामुखलाई बुझाइएको प्रतिवेदनले ४ महिनापछि प्रदेशसभामा औपचारिक प्रवेश पाएको हो । १३ सदस्यीय समितिले प्रदेश सभालाई प्रतिवेदन बुझाएसंगै समितिसमेत विघटन भएको छ l हेटौंडालाई नै प्रदेश तीनको स्थायी राजधानी बनाउनु पर्ने माग गर्दै जन सरोकार केन्द्रले सोमबार संसद सचिवालय अगाडि धर्ना दिएको छ । संविधान अनुसार हेटौंडालाई स्थायी राजधानी घोषणा नगरेसम्म आफूहरुको ध्यानाकर्षण जारी रहने केन्द्रका अध्यक्ष अधिवक्ता ध्रुव चौलागाईले बताउनु भयो । सोमबारको बैठकसँगै प्रदेशसभाको बैठक स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस