प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री बनाऔँ : सांसद चन्द

सफल खबर संवाददाता

आइतबार, ०९ भदौ २०८१, १५ : ०६
प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री बनाऔँ : सांसद चन्द

काठमाडौँ ।  राष्ट्रियसभामा नेकपा (माओवादी केन्द्र) की सांसद रेणु चन्दले प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री बनाउन आवश्यक रहेको बताएकी छन् । आइतबारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री बनाउनुपर्ने नेकपा (माओवादी केन्द्र)को धारणा रहेको बताइन् । उनले संविधान संशोधन गर्ने सत्तामा रहेका दुई ठूला राजनीतिक दलहरुले स्पष्ट धारणा ल्याउनुपर्ने बताइन् ।

उनले चुनावी घोषणा पत्रमा संविधान संशोधनको विषय नराखेकाले जनअनुमोदित बनाएर मात्रै संविधान संशोधन हुनुपर्ने बताइन् ।उनले भनिन्, ‘प्रदेश मजबुत बनाएका छौँ कि छैनौँ, छैनौँ भने कसका कारणले यसको पनि विश्लेषण हुनुपर्छ ।

समानुपातिक समावेशीलाई दोष लगाउनुभन्दा सही अन्वेषण गरेनौँ भने सरकार बनाउन बाहेक अरु कुनै उद्देश्य छैन भन्ने पुष्टि हुन्छ । संविधान संशोधनको कुरा गर्नुहुन्छ भने आफ्नो आधिकारिक धारणा ल्याउनुस् । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री पनि बनाएर जाऔँ ।’

सांसद चन्दले समानुपातिक समावेशीलाई दोष लगाउनुभन्दा सही अन्वेषण गर्नुपर्ने बताए ।  

प्रतिक्रिया दिनुहोस