मोदी र मलेसियाली समकक्षीबीच भेटवार्ताः साझेदारीलाई अझ बढाउन छलफल

सफल खबर संवाददाता

मंगलबार, ०४ भदौ २०८१, १५ : ३२
मोदी र मलेसियाली समकक्षीबीच भेटवार्ताः साझेदारीलाई अझ बढाउन छलफल

काठमाडौं। नयाँ दिल्ली–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका मलेसियाली समकक्षी अनवर इब्राहिमबीच मङ्गलवार भेटवार्ता भएको छ ।हैदरावाद हाउसमा भएको भेटका क्रममा भारत र मलेसियाबीच विभिन्न क्षेत्रमा भएका साझेदारीलाई अझ बढाउन दुई नेताबीच छलफल भएको बताइएको छ ।

‘साझेदारी रूपान्तरणका लागि प्रधानमन्त्री मोदीले उनका मलेसियाली समकक्षी इब्राहिमलाई हैदरावाद हाउसमा न्यानो स्वागत गर्नुभयो,’ विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले एक्समा लेखेका छन्, ‘विभिन्न क्षेत्रमा साझेदारीका संलग्नतालाई अझ प्रगाढ बनाउन र सहकार्यका नयाँ क्षेत्रहरूको खोजी गर्न छलफल अगाडि बढेको छ ।’

यसअघि राष्ट्रपति भवनमा प्रधानमन्त्री मोदीले इब्राहिमलाई औपचारिकरूपमा स्वागत गरेका थिए ।मलेसियाली प्रधानमन्त्रीका रूपमा पहिलो पटक भारत भ्रमणमा आएका इब्राहिम मंगलवार नै राजधानी नयाँ दिल्ली आइपुगेका हुन् । 

‘मलेसिया र भारतबीचको सम्बन्ध लामो समयदेखि दुवै मित्रराष्ट्र र त्यहाँका जनताका लागि लाभदायक रहँदै आएको छ,’ इब्राहिमले राजघाटमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेपछि पत्रकारसँग भने, ‘निश्चित रूपमा, हाम्रो छलफलले दुई देशहरूबीचको घनिष्ठ सहयोगको पक्षलाई जोड दिनेछ साथै यस मैत्रीपूर्ण सम्बन्धलाई बलियो बनाउन सक्ने अन्य क्षेत्रहरूको खोजी गर्नेछ ।’

मलेसियाका प्रधानमन्त्री इब्राहिमले थपे, ‘भारत र मलेसियाबीच ऐतिहासिक र सामाजिक–सांस्कृतिक सम्बन्ध प्रगाढ छ । भारतको नयाँ दिल्लीस्थित राष्ट्रपति भवन, त्यहाँ आयोजित औपचारिक स्वागत समारोहबाट मलाई सम्मानित गरिएको छ ।

सन् २०१५ मा भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा द्विपक्षीय सम्बन्धलाई उन्नत रणनीतिक साझेदारीको तहमा पुर्याइएको उनले स्मरण गरे ।

प्रतिक्रिया दिनुहोस